भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

राष्ट्रसङ्घीय महासभामा भाग लिएर परराष्ट्र मन्त्री आज स्वदेश फर्कँदै

काठमाडौँ । परराष्ट्र मन्त्री डा.नारायण खड्का संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिएर आज बिहान स्वदेश फर्कँदै हुनुहुन्छ ।

न्युयोर्कको औपचारिक भ्रमण पूरा गरी त्यहाँबाट मन्त्री खड्का नेतृत्वको प्रतिनिधिमण्डल बुधवार स्वदेशका लागि प्रस्थान गरेको संयुक्त राष्ट्रसङ्घका लागि न्युयोर्कस्थित स्थायी नेपाली नियोगले जनाएको छ । 

प्रतिनिधिमण्डललाई जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई, त्यहाँस्थित कायममुकायम महावाणिज्यदूत विष्णुप्रसाद गौतमलगायत दुवै नेपाली नियोगका अधिकारीले बिदाइ गर्नुभएको थियो ।     

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही असोज ८ गते न्युयोर्क पुग्नुभएका मन्त्री खड्काले सभालाई सम्बोधन गर्नका साथै भारत, बङ्गलादेश, कुवेत र बहराइनका  विदेश मन्त्रीहरू क्रमशः एस जयशङ्कर, अब्दुल मोमेन, शेख अहमद नासिल अल मोहमद अलसवाह र अब्दुल लतीफ बिनसँग बेग्लाबेग्लै भेटवार्ता गर्नुभएको थियो । 

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँले ‘आशाको माध्यमबाट प्रतिरोधका साथ कोभिड–१९ बाट पुनः स्थापना, दिगो पुनः निर्माण, पृथ्वीको आवश्यकता पूरा गर्न तथा जनताका अधिकारलाई सम्मान गर्दै संयुक्त राष्ट्रसङ्घलाई पुनः जागृत गराउने’ विषयमा महासभालाई सम्बोधन गर्नुभएको थियो । 

साथै परराष्ट्र मन्त्रीले ७६औँ महासभाका अध्यक्ष अब्दुल्ला साहिद, राष्ट्रसङ्घीय शान्ति सैन्य परिचालन विभागका उपमहासचिव जिन पियरे लाक्वा, अर्का उपमहासचिव अतुल खरे राशिद अल ज्यानीसँग बेग्लाबेग्लै भेटेर नेपाल र राष्ट्रसङ्घ बीचको सहयोगात्मक सम्बन्धबारे विचार विमर्श गर्नुभएको थियो । अमेरिकामा रहेका नेपालीले आयोजना गरेको छलफलमा पनि उहाँ सहभागी हुनुभएको थियो । 

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहिबार  ७ : २८ बजे