काठमाडौँ । परराष्ट्रमन्त्री डाक्टर नारायण खड्काले नेपालले विश्वशान्ति, सहअस्तित्व र समानतामा आधारित सम्बन्ध तथा भाईचाराको नीतिमा प्रतिवद्ध रहेको बताउनुभएको छ ।
संयुक्त राष्ट्र संघको ७६औँ महासभालाई न्युयोर्कमा नेपालको तर्फवाट आज बिहान सम्बोधन गर्दै परराष्ट्रमन्त्री खड्काले आतंकवाद मानव अस्तित्वको शत्रु भएको उल्लेख गर्दै नेपालले आतंकवादको विरोध गरिरहेको बताउनुभयो ।
आणविक हातहतियारको होडबाजीले विश्वको शान्ति र सहअस्तित्वमाथि प्रश्न खडा गर्ने भएकोले नेपाल त्यसको पनि विपक्षमा रहेको बताउनुभयो। दक्षिण एसिया तथा मध्यपूर्वका देशमा भएको द्वन्द्व र अशान्तिको विषय समेत उठाएका खड्काले भन्नुभयो,,’अफ्गानिस्तान, लिवियालगायत द्वन्द्वग्रस्त मुलुकको स्थायित्व आफ्नै अन्तरिक विषय भएकाले सोही अनुरुप आपसी समझदारीमा समाधान हुने नेपालको विश्वास छ ।’
कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाएका विश्वभरका नागरिकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै परराष्ट्र मन्त्री खड्काले खोपको उपलब्धतामा गहिरिँदै गएको असमानताले न्यून आय भएका मुलुकमा ठूलो आर्थिक सामाजिक असर पारेको पनि बताउनुभयो । विश्वव्यापी मानव समुदायका लागि चुनौती बनेको कोभिड १९ महामारीवाट जनतालाई सुरक्षित बनाउनु नेपालको पनि पहिलो प्राथमिकता रहेको बताउनुभयो । नेपाली जनतालाई कोरोना संक्रमणवाट सुरक्षित बनाउन वर्तमान सरकारले खोपको व्यवस्थापन र खोप लगाउने कार्यलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो ।
सबै नेपाली जनतालाई आगामी ६ महिनाभित्र खोप लगाईसक्ने लक्ष्यकासाथ नेपाल सरकारले कार्ययोजना अघि बढाएको पनि मन्त्री खडकाले बताउनुभयो । कोभिड १९ को संकट व्यवस्थापन र खोपको व्यापकताका लागि राष्ट्र संघले देखाएको चासो र प्राथमिकताको परराष्ट्रमन्त्री खड्काले प्रसंशा गर्नुभयो । नेपालमा विश्वको सर्बोच्च शिखर सगरमाथालगायत ८ हजार मिटरभन्दा अग्ला धेरै हिमाल भएकाले पर्यटन गन्तव्यको एक अनुपम देश भएको पनि परराष्ट्रमन्त्री खड्काले उल्लेख गर्नुभयो ।
प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार ९ : १८ बजे
प्रतिक्रिया