नेकपा एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै 

काठमाडौँ । नेकपा (एमाले) को शुक्रवारदेखि जारी केन्द्रीय कमिटी बैठक आज पनि बस्ने भएको छ  ।

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा शनिवार भएको बैठकमा विधान महाधिवेशनमा पेस  गर्ने  विभिन्न प्रस्ताव माथि समूहगत छलफल भएको थियो।

शुक्रवारदेखि भएको बैठकले तीन प्रस्तावमा छलफल गर्न १० वटा समूह बनाएको थियो । समूहगत छलफल सकिएपछि टोली नेताहरूले शनिवारको बैठकमा निष्कर्ष सहितको सुझाव प्रस्तुत गर्नुभएको थियो । 

शनिवारको बैठकमा समूहगत सुझाव पेस गर्ने काम मात्रै भएकाले अध्यक्ष केपी शर्मा ओली लगायतले जवाफ दिने काम नसकिएकोले बैठक आजसम्मका लागि लम्बाइएको पार्टीका प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो । 

बैठक आज ११ः०० बजे पुनः बस्दैछ  । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले सांगठानिक र उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्तावमा समूहगत छलफलबाट आएका सुझावहरुको आज जवाफ दिनुहुने छ । 

शुक्रबारको  बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले सांगठानिक र उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेस गर्नु भएको थियो  । यी विभिन्न प्रस्ताव माथि शनिबार समूहगत छलफल भएको थियो।

 

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  ६ : ५९ बजे