एमाले केन्द्रीय कमिटी बैठक भोलि ११ बजेसम्मलाई स्थगित

काठमाडौं । शुक्रबार देखि जारी नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक लम्बिएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रष्ठिानमा बसेको बैठकमा विधान महाधिवेशनमा पेश गरी विभिन्न प्रस्ताव माथि समूहगत छलफल भएको थियो।

हिजोदेखि शुरु भएको बैठकले तीन प्रस्तावमा छलफल गर्न १० वटा समूह बनाएको थियो । समूहगत छलफल सकिएपछि टोली नेताहरुले निष्कर्ष सहितको सुझाव प्रस्तुत गर्नुभएको थियो । आज समूहगत सुझाव पेश गर्ने काम मात्रै भएकाले अध्यक्ष केपी शर्मा ओली लगायतले जवाफ दिने काम नसकिएकाले बैठक लम्बिएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनु भयो । बैठक भोलि ११ बजेसम्मलाई स्थगित भएको छ ।

अध्यक्ष ओलीले राख्नुभएको राजनीतिक प्रतिवेदन, महासविच ईश्वर पोखरेलले राख्नुभएको सांगठानिक र उपमहासचिव विष्णु पौडेलले पेश गर्नुभएको विधान संधोधन प्रस्तावमा छलफल चलेको थियो । ‘जबज’को मार्ग निर्देशनमा लोकतान्त्रिक जनवादी क्रान्ति सम्पन्न भएको र त्यसलाई संस्थागत गर्दै समाजवादको आधार निर्माण गर्ने कार्यदिशालाई अगाडि बढाउनुपर्छ भन्ने सुझाव आएको भट्टराईले बताउनु भयो ।

त्यस्तै एउटै कम्युनिष्ट पार्टी बनाउने कार्यदिशालाई पनि एमालले अगाडि बढाउनुपर्ने सुझाव आएको उहाँले बताउनु भयो । ‘प्रत्येक तहमा युवाहरुको उल्लेख्य सहभागिता हुनुपर्छ भन्ने सुझाव पनि छ,’ भट्टराईले भन्नुभयो, ‘नीति निर्माणदेखि जनप्रतिनिधिसम्म त्यस्तो सहभागिताको माग गरिएको छ ।’

आगामी निर्वाचनमा पहिलेको भन्दा राम्रो परिणाम ल्याउने गरी सम्पूर्ण शक्तिसाथ अगाडि बढ्नु्पर्ने, उपाध्यक्षहरु प्रादेशिक ढंगले सहज हुने गरी ७ जना राख्नुपर्ने तथा पार्टीलाई समावेशी र राष्ट्रिय चरित्रको बनाउनुपर्ने सुझाव आएको भट्टराईले जानकारी दिनु भयो ।

प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार  ८ : १७ बजे