कांग्रेसको आजदेखि गाउँ/नगर अधिवेशन प्रारम्भ हुँदै

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत पूर्व निर्धारित मितिअनुसार वडा अधिवेशन सम्पन्न भएका जिल्लामा आजदेखि गाउँ/नगर अधिवेशन प्रारम्भ हुँदैछ ।

पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार वडा अधिवेशन भई अन्तिम मत परिणाम प्राप्त भएका अधिकांश जिल्लामा आजदेखि गाउँ/नगर अधिवेशन सुरु भएको छ । 

कांग्रेसले हालसम्म ६४ जिल्लामा वडा अधिवेशन सम्पन्न गरिसकेको  छ । 

काँग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारीको शुक्रबार सिंहदरबारस्थित काँग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकले पालिका अधिवेशनलाई निर्धारित समयमै  गर्ने निर्णय गरेको पार्टी प्रवक्ता विश्व प्रकाश शर्माले जानकारी दिनुभयो ।

प्रवक्ता शर्माले  २१ वटा हिमाली जिल्लामा दशैअघि अधिवेशन गर्ने  र क्रियाशील नटुङ्गिएका जिल्लाको हकमा सहमति गरेर अघि बढ्ने निर्णय भएको बताउनुभयो । प्रवक्ता शर्माले अन्य विवादित विषयका सम्बन्धमा पनि केन्द्रीय कमिटीको बैठक बसेर आवश्यकता अनुसार निर्णय हुने बताउनुभयो ।

कांग्रेसको वडा अधिवेशन गत भदौ १८ गतेदेखि प्रारम्भ भएको थियो । 

पार्टीले यसअघि महाधिवेशनअन्तर्गत गाउँ/नगरपालिका अधिवेशन यही असोज ९ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १२ गते र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १५ गते तय गरेको थियो । 

यस्तै एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १८ गते, प्रदेश अधिवेशन कात्तिक १० गतेदेखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ गतेदेखि १३ गतेसम्म तय गरिएको छ ।

काँग्रेसले उत्साहका साथ महाधिवेशनमा सहभागी हुनआफ्ना नेता तथा  कार्यकर्तालाई आग्रह  समेत गरेको छ । 

प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार  ८ : २९ बजे