एमाले बैठकमा वामदेवलाई निम्तो

काठमाडौं । एमाले उपाध्यक्षबाट राजीनामा दिनुभएका नेता वामदेव गौतमलाई एमालेले जारी केन्द्रीय कमिटी बैठकमा उपस्थित हुन निम्तो गरेको छ । एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार उहाँलाई मोबाइलमा म्यासेज र फोन गरेर बैठकमा आउन भनिएको हो ।  यसअघि बसेको स्थायी कमिटी बैठकमा पनि उहाँलाई बोलाइएको थियो । तर उहाँ सहभागी हुनुभएन । 

गौतमले दिनुभएको  राजीनामा स्वीकृत भइनसकेको र निर्वाचन आयोगको अभिलेखमा समेत गौतमको पद कायम रहेका कारण केन्द्रीय कमिटी बैठकमा समेत उहाँलाई बोलाइएको तामाङले जानकारी दिनुभयो ।

बैठकमा बोलाइए पनि उहाँ  सहभागी भने हुनुभएको छैन  । एमालेले विधान महाधिवेशनमा भने गौतम सहभागी हुने अपेक्षा गरेको छ । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीको पदाधिकारी चयनमा गौतमको नाम नपरेपछि उत्साही भएको एमालेले गौतमले राजीनामा फिर्ता लिने दाबी गर्दै आएको छ ।

तर गौतम भने एमाले अध्यक्ष केपी ओलीको कार्यशैली र माधव नेपाल नेतृत्वको नेकपा (एस) ले अंगाल्ने सैद्धान्तिक लाइनप्रति असन्तुष्ट छन् । उनी निकट नेताहरूसमेत नेकपा (एस)को पदाधिकारीमा अटाएका छैनन् ।

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार  १ : ४५ बजे