बजेट हाम्रै हातबाट खर्च गरौं, चुनाबलाई पैसा चाहिन्छ :  प्रचण्ड

काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको बजेट आफुहरुले खर्च गर्ने व्यवस्था मिलाउनुपर्नेमा जोड दिनुभएको छ । वाईसीएलको दोस्रो पाँचखाल नगर सम्मेलनलाई बिहीबार काभ्रेको पाँचखालमा सम्बोधन गदै प्रचण्डले आगामी चुनाब जित्न धेरै पैसा खर्च हुने भएकाले सरकाको बजेट खर्च गर्ने अभियानमा ध्यान दिन कार्यकर्तालाई निर्देशन दिनुभयो । उहाँले भन्नुभयो,‘ चुनावमा दलालहरुसँग साँठगाँठ गर्नुपर्छ ,गाउँपालिकाको चुनाव हुँदा त लाखौ चाहिन्छ भने प्रदेशकाले जित्न करोड चाहिन्छ त्यसकारण सरकारको बजेट हामीले खर्च गर्नुपर्छ ।’ हामीसँग मालदार मन्त्रालय भएको भन्दै प्रचण्डले सरकारका नीति कार्यकम बजेट कार्यक्रम अन्र्तगत गाउँपालिका, नगरपालिकाको बजेट तालमेल गरेर चलाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो,बजेट हामीले नै खर्च गर्ने हो । 

 नेकपा विभाजन गरेर लडेकै कारण अहिले तीन वडा प्रदेशमा आफ्नो सरकार भएको र केन्द्रमा पनि महत्वपूर्ण मन्त्रालय सहित मन्त्री पाएकोले अब माओवादीले बजेटमा ध्यान दिनुपर्ने उहाँको भनाइ थियो । उहाँले कसैले बिरोध गरे विरोधीमाथी जाईलाग्न पनि निर्देशन दिनुभयो । अध्यक्षले भन्नुभयो,‘बरु जेल जाने, बरु मर्ने तर कसैसँग नसहने नीति लिएर अगाडि बढ्नुस् ।’ 

नेताहरु बिग्रिएका कारण माओवादीसँग जनता निराश भएको भन्दै उहाँले जनताको मन जित्न केन्द्रदेखी नै बजेटमा तालमेल गरेर गाउँ प्रवेश गर्नुपर्ने बताउनुभयो । 

प्रचण्डले आफैं बिग्रिएकाले अब सुध्रिएर समाजवादी क्रान्तिमा हामाफाल्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘बिग्रिएको मै हो, म सच्चिन्छु, अरु को को सच्चिने नसच्चिने तयार हुनुस्, अरुलाई भन्दा पहिले आफैंलाई सुधार्छु।’

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहिबार  ४ : १६ बजे