मिल्ने भए प्रचण्ड-माधवले क्याबिनेट भ्यागुताले जस्तो फुलाउँथे, २५ मा अटाउन समस्या भयो : ओली

काठमाडौं । एमालेका अध्यक्ष केपी ओलीले ७२ दिनसम्म मन्त्रिपरिषद् विस्तार नहुँदा देशको महत्वपूर्ण समय खेर गएको टिप्पणी गर्नुभएको छ ।  

श्वेतशार्दूल पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै ओलीले सत्ता गठबन्धनमा संविधानले तोकेको २५ जनाको सीमाभित्र अटाउन समस्या भएको टिप्पणी गर्नुभयो ।

‘शेरबहादुरजीले नेतृत्व गर्नुभएको सरकारमा रंगीविरंगी मान्छे छन्’, प्रचण्ड र माधव नेपालतर्फ संकेत गर्दै ओलीले भन्नुभयो ,‘उहाँहरू अझै मन्त्रिपरिषद् संख्या बढाउन प्रयास गर्दैहुनुुहन्छ  । पहिलाजस्तो ६५–६७ बनाउन सक्दैनन् । मिल्ने भए त  भ्यागुता फुलाए भन्दा फुलाउदै जानुहुन्थ्यो । अहिले संविधानले दिँदैन । अहिले २५ मा अटाउन उहाँलाई समस्या भइरहेको छ । त्यहीँ कारण हो अहिलेको तमासा ।’

सवा वर्ष कार्यकाल रहेको सरकारले पद र भागबन्डामै २० प्रतिशत समय खेर फालेको उहाँको भनाइ थियो । ‘कार्यकाल सवा वर्ष छ । २० प्रतिशत भाग यसै गयो । खाली पदको चिन्ता । देशको समय बर्बाद भयो,’ उहाँले भन्न्ुभयो । 

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  ४ : ४९ बजे