निजामती कर्मचारी सङ्गठनमा हुलहुज्जत निन्दनीयः एमाले

काठमाडौं ।  नेकपा एमालेले नेपाल निजामती कर्मचारी सङ्गठनको केन्द्रीय कार्यालय बबरमहलमा सोमबार साँझ अराजक व्यक्तिहरुले कार्यालयभित्र अनधिकृत रुपमा प्रवेश गरी हुलहुज्जत, तोड्फोडको निन्दा गरेको छ ।

केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले विज्ञप्ती जारी गर्दै अराजक समूहले नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष केदारप्रसाद देवकोटा, वरिष्ठ उपाध्यक्ष लेखनाथ कोइराला लगायतका पदाधिकारीहरुलाई हातपात समेत गरेको घटना निन्दनीय रहेको बताउनुभएको छ ।

‘सो घटनामा संलग्न आक्रमणकारी समुहले नेकपा (एमाले) विरुद्ध नाराबाजी समेत गरी अमर्यादित रुपमा प्रस्तुत भएको देखिएको आक्रमणकारी समुहलाई कानून बमोजिम कारवाही गर्नुको सट्टा उल्टै कार्यालयका कर्मचारी र कार्यालय तोडफोड भएको खबर थाहा पाएपछि आफ्नो कार्यालयमा के भएछ भनी हेर्न आएका नेपाल निजामती कर्मचारी संगठनका पदाधिकारी र सदस्यहरुलाई प्रशासनले सोधपुछ र माथिको आदेशको नाममा नियन्त्रणमा लिएको सुनियोजित घटना प्रति नेकपा (एमाले) कोगम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तीमा भनिएको छ ।

एमालेले नियन्त्रणमा लिएका संगठनका पदाधिकारी, सदस्य तथा कर्मचारीहरुलाई तत्काल रिहा गरी अक्रमणमा संलग्न समूहलाई कारवाही गर्न माग गर्नुभएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  ९ : ११ बजे