एमाले देश बनाउने ध्रुव हो, गठबन्धन अवसरवादी र अनैतिक शक्ति हो : पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले सत्ता गठबन्धनले आर्थिक विकासको अभियानलाई अवरुद्ध गर्न खोजेको आरोप लगाउनुभएको छ ।   

बिहीबार प्रज्ञा प्रतिष्ठानमा कार्यकर्तालाई प्रशिक्षण दिँदै पोखरेलले एमाले आर्थिक समृद्धिको बाहक भएको र सत्ता गठबन्धनले समृद्धिको अभियानलाई अवरुद्ध पार्ने खोजेको बताउनुभयो  ।

नेपालको राष्ट्रिय राजनीतिक अहिले दुई धुव्रमा  विभाजित भएको भन्दै पोखरेलले एकातिर देश बनाउने सपना बोकेको एमाले रहेको र अर्कोतिर अवसरवादी र अनैतिक गठबन्धन रहेको बताउनुभयो । 
‘जहाँ आर्थिक विकास, समृद्धि, राष्ट्रिय स्वाधिनता, सामाजिक सद्भाव, समानता, देश बनाउने सपना बोकेको एउटा धुव्र छ । त्यो एमाले हो । केपी ओलीले नेतृत्व गरेको छ,’ उहाँले भन्नुभयो,’ अर्कोतिर गठबन्धन र त्यसका शक्ति पक्ष रहेका छन् । त्यो गठबन्धन र त्यसका सदस्यहरुले संविधान, कानुन, लोकतान्त्रिक मूल्य मान्यता विरुद्धका आचरणहरुलाई प्रतिनिधित्व गर्छ । आर्थिक विकासको अभियानलाई अवरुद्ध गर्न खोजेको छ । स्वाधिनता कमजोर पार्न खोजेको छ । यो गठबन्धन अवसरवादी अनैतिक एउटा शक्ति हो ।’

पोखरेलले अहिले नै समाजवाद आयो भनेर बुझिहाल्न नपर्ने बताउनुभयो । ‘एमालेलाई सरकारबाट हटाउनका लागि बाहिरका भित्रका पनि भित्रकासँग कस्तो गठजोड भयो । त्यसकारण सामन्तवाद अन्त्य भयो भन्ने भ्रम पाल्नुहुँदैन । अवशेष बाँकी नै छ,’ उहाँले भन्नुभयो  ।  

पोखरेलले एमालेले चुनाव नजिते परिवर्तन उल्टिने पनि बताउनुभयो । ‘अब हामी चुनाव जित्छौं । दुर्भाग्यवश हामीले जितेनौ भने परिवर्तन उल्टोतिर जान्छ,’ उहाँले भन्नुभयो ।  

पोखरेलले पार्टी संगठनमा अध्ययन र प्रशिक्षणको कमी औल्याए । ‘दस्तावेज, निर्देशन, वक्तव्यहरु पढेको छैन । सामाजिक सञ्जालमा अल्झिएका छौं । त्यहीँ आधारमा धारणा बनाउने काम गरेका छौं । अब अध्ययन र प्रशिक्षणमा ध्यान दिनुपर्छ । स्वअध्ययनमा ध्यान दिनुपर्छ,’ उहाँले भन्न्ुभयो ।

पोखरेलले पार्टीमा गुटबन्दी र अराजकता मौलाएको भन्दै यो पार्टीलाई समाप्त पार्ने महारोग भएको बताउनुभयो ।‘अतिथिमा तलमाथि र्गयो भने पनि गुटबन्दी भइरहेको छ । यसलाई परास्त गर्नुपर्छ,’ उहाँले भन्नुभयो ।  
 

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहिबार  ३ : १३ बजे