शेरबहादुरको पछिपछि लखरलखर गर्ने माधव नेपाललाई कसरी कमरेड भन्नु ? : ओली

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई कमरेड भन्न नमिल्ने बताउनुभएको छ ।

बुटबलमा आयोजित कार्यकर्ता भेलालाई संवोधन गर्नुहुँदै ओलीले एमाले फुटाएर काग्रेंसको पछिपछि हिड्ने माधवलाई कमरेड भन्न नसकिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘मलाई साथीहरूले माधव कमरेड भन्नुस् भन्नुहुन्छ ? कसरी कमरेड भन्नु ? एमालेमाथि बन्चरो हान्नेलाई कमरेड भन्छन् ? एमाले चोइट्याउनेलाई कमरेड भन्छन् ? माधव नेपाल कमरेड होइन, एमालेविरोधी, अपराधकर्म गर्ने मान्छे हुन् । प्रतिक्रियावादीको सेवा गर्ने कठपुतलीवाला सरकार बनाउने अगुवा हुन् ।’

ओलीले अगाडि थप्नुभयो, ‘शेरबहादुर देउवाको पछिपछि लखरलखर गर्ने मान्छेलाई कमरेड भन्न मिल्दैन । जो पार्टी ध्वस्त गर्न लागेको छ, त्यो कमरेड हुँदैन ।’ नेपालले एमाले नेतृत्वको सरकार छँदा सँधै असहयोग गरेको ओलीले बताउनुभयो । ‘हाम्रो नेतृत्वको सरकारले राम्रो काम गर्दा माधव नेपालले कहिल्यै सरकारको समर्थन गरेको सुन्नुभयो ? सरकारको प्रशंसामा एक शब्द बोलेको सुन्नुभयो ? यस्तो कुन्ठाग्रस्त मान्छेलाई तपाईंहरू कसरी कमरेड भन्नुहुन्छ ?’

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार  ५ : २० बजे