सभामुखले बोलाएको सर्वदलीय बैठकमा एमाले अध्यक्ष ओली नजाने 

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली सर्वदलीय बैठकमा नजाने हुनुभएको छ । संसदको गतिरोध अन्त्यका लागि सभामुख अग्निप्रसाद सापकोटाले आह्वान गरेको सर्वदलीय बैठकमा ओली नजाने उहाँको सचिवालयले जनाएको छ । बैठकमा एमालेबाट प्रतिनिधि भने पठाइने अध्यक्ष ओलीको सचिवालयले जनाएको छ ।

आज दिउँसो २ : ३० बजे बस्ने बैठकमा एमालेबाट संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक विशाल भट्टराईलगायतका नेता सहभागी हुने बताइएको छ । 

सभामुखले आफू अध्यक्ष रहेको संवैधानिक परिषद् बैठक पटक–पटक प्रचण्डको निर्देशनमा बहिष्कार गरेको भन्दै ओली नेकपाकालदेखि नै सभामुखसँग असन्तुष्ट रहदै आउनुभएको छ । एमालेले सदन अवरोध जारी राखेपछि सभामुखले निकासका लागि आज सर्वदलीय बैठक आव्हान गर्नुभएको छ ।

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार  १० : ३५ बजे