यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

सत्तारुढ गठबन्धनले एमसीसीबारे धारणा बनाउन सकेन, भोलि फेरि बैठक बस्ने

काठमाडौँ– सत्तारुढ दलहरुको गठबन्धनले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) र नेपाल सरकारबीच भएको सम्झौता एमसीसी कम्प्याक्टबारे साझा धारणा बनाउन सकेन । एमीसीकी उपाध्यक्ष फातेमा सुमार नेतृत्वको एमसीसी प्रतिनिधिमण्डल बिहीबार काठमाडौँ आइपुगेको छ ।

शुक्रबार सो प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम तय भएको छ । सो भेट अगाडि नै गठबन्धनको साझा धारणा बनाउन भन्दैै प्रधानमन्त्री देउवाले बिहीबार बालुवाटारमा बैठक राखेका थिए । तर, सो बैठकले कुनै निस्कर्ष ननिकालेको बैठकमा सहभागी एक नेताले जानकारी दिए । सत्ता गठबन्धनका माओवादी केन्द्र अहिलेकै अवस्थामा एमसीसी कम्प्याक्ट अनुमोदन गर्न नहुने पक्षमा छ भने माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले आफ्नो धारणा सार्वजनिक गरेको छैन । तर, सो पार्टी निकट विद्यार्थी संगठनले भने एमसीसीको विरोध गर्दै आएको छ ।

सरकारको नेतृत्व गरिरहेको कांग्रेस भने एमीसी पारित गर्नुपर्ने पक्षमा छ । सत्ता गठबन्धनमै एमसीसीबारे समान धारणा नरहेकाले प्रधानमन्त्री देउवा अप्ठ्यारोमा परेका छन् । त्यसैले उनले बिहीबार साझा धारणा बनाउन बैठक बोलाएका थिए । तर, बिहीबारको बैठकमा सत्तारुढ गठबन्धनको एक घटक जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव उपस्थित हुन नसकेपछि कुनै निर्णय नगरिएको एक नेताले बताए । उनले एमीसीबारे छलफल भने भएको बताए ।

बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल, गृहमन्त्री बालकृष्ण खाँण, कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायतको उपस्थिति थियो ।

 

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहिबार  ७ : ५४ बजे