१ सय ६४ घर खरको छानामुक्त

वाग्मती ।  मकवानपुर जिल्लाको विकट मानिने राक्सिराङ गाउँपालिकामा खरको छानामुक्त गर्ने अभियानअन्तर्गत पछिल्लो पटक १ सय ६४ घर खरको छानोमुक्त भएका छन् । 

सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत गाउँपालिकाको १ नम्बर वडामा १७ वटा घर छनोट भएर नागरिक लाभान्वित भएका छन् भने २ नम्बर वडामा पनि १७ घरका नागरिकले सो सुविधा लिएका छन् । 

३ नम्बर वडाका १८, ४ नम्बर वडाका २०, ५ नम्बर वडाका १७, ६ नम्बर वडाका १७, ७ नम्बर वडाका २०, ८ नम्बरका १८ र ९ नम्बरका २० घरधुरी लाभान्वित भएको गाउँपालिकाले जनाएको छ । सङ्घीय सरकारले उपलब्ध गराएको रकम रु ५० हजारको दरले १६८ घरपरिवारलाई वितरण गरिएको थियो । 

त्यस्तै प्रदेश सरकारकातर्फबाट रु २५ लाख र स्थानीय सरकारका तर्फबाट रु २५ लाख गरी कूल रु ५० लाखमार्फत १२५ घरधुरीलाई रु ४० हजारको दरले जस्तापाता खरिदका लागि रकम उपलब्ध गराइएको थियो । 

गाउँपालिकाका अधिकांश घर पछिल्लो पटक खरको छानोमुक्त बनेका छन् । 

विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना
जिल्ला विपद् व्यवस्थापन समिति मकवानपुरले विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाको विषयमा हेटौँडामा शुक्रबार अद्यावधिक कार्यशाला गरेको छ । 

जिल्ला प्रशासन कार्यालय मकवानपुरमा आयोजित विपद्को जोखिम र त्यसको न्यूनीकरणको विषयमा कार्यशालामा छलफल भएको थियो । 

विपद् आउनुअघि त्यसको रोकथाम र नियन्त्रणको लागि समितिले स्थानीय तह, राजनीतिक दल तथा विभिन्न सरोकारवाला निकायसँग छलफल गरेको हो ।

कार्यक्रममा उपस्थितले जथाभावीरुपमा हुने नदीजन्य उत्खननले विपद्को जोखिम बढाइरहेको भन्दै यसलाई रोक्न आवश्यक रहेको बताएका थिए । 

प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, जिल्लाको विभिन्न स्थानीय तहको प्रमुख/उपप्रमुख, सुरक्षाकर्मी, राजनीतिक दलका प्रतिनिधिलगायत सरोकारवालाको उपस्थिति रहेको थियो ।रासस 

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार  ७ : ५२ बजे