यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

जिप रुखमा अड्किदा …

म्याग्दी – म्याग्दीको धवलागिरी गाउँपालिका–७ बादिकामा आज जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालकसहित आठ जना सामान्य घाइते भएका छन् ।  

मृत्युहुनेमा धौलागिरि गाउँपालिका–७ ताकमका २७ वर्षीय विकास सुनार रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले जानकारी दिनुभयो । उहाँका अनुसार ताकमदेखि दरबाङ हँुदै बेनीतर्फ आउँदै गरेको ग१ज ६८०५ नम्बरको बोलेरो पिकअप जिप दरबाङ–धारापानी सडकअन्तर्गत बादिकाको भिरबाट खसेको थियो । 

चालक आकाश रसाइलीको निधार र घाँटीमा चोट लागेको छ । घाइतेको दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको  जनाइएको छ ।  सडकबाट पल्टिएर सल्लाको रुखमा अड्किदासम्म जिपभित्रै रहेका यात्रु बाँचेका हुन् । जिपबाट खसेका सुनारको केही तल शव भेटिएको घटनास्थलमा पुगेका इलाका प्रहरी कार्यालय दरबाङका प्रहरी निरीक्षक सन्तोष पौडेलले बताउनुभयो । 

स्थानीयवासी, दरबाङ र ताकमको प्रहरी टोलीले घाइतेको उद्धार गरेर दरबाङ लगेका थिए । दुर्घटना भएको ठाउँको सडक उकालो र साँघुरो छ । दुर्घटनाको बारेमा थप अनुसन्धान शुरु गरेको प्रहरी निरीक्षक पौडेलले बताउनुभयो । 

रासस

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  १२ : २५ बजे