काठमाडौँ– नेपाल मेडिकल काउन्सिलले मुटु रोग विशेषज्ञ डा.ऋषि खत्रीलाई १ वर्षका लागि मुटु सम्बन्धि रोगको उपचार गर्न प्रतिबन्ध लगाएको छ । काउन्सिलमा शुक्रबार बसेको बैठकले खत्रीलाई एक वर्ष तालिम र थप सिकाई गरेको प्रमाण पेश गरेपछि मात्र मुटु रोगको उपचार गराउन अनुमति दिने निर्णय गरेको काउन्सिलको रजिष्टार डा.कृष्णप्रसाद अधिकारीले बताए । खत्री लगायतका चिकित्सकविरुद्ध परेको उजुरीका सम्बन्धमा छानबिन हुँदा उपचारका क्रममा चिकित्सकीय लापरबाही भएको देखिएकाले रोक लगाइएको उनले बताए ।
यसरी भयो स्वास्थ्य जाँचमा लापरवाही
नेपाल वायुसेवा निगमका सिनियर क्याप्टेन थिए, राकेश जंगबहादुर राणा । वि.सं. २०७७ मंसिर ९ गते राति १० बजे मलेसियाको उडानका लागि तयारी गर्दैगर्दा छाती दुखेपछि राणालाई ह्याम्स अस्पताल भर्ना गरिएको थियो । अस्पतालले राणालाई मंसिर १० गते हृदयघातका कारण मृत्यु भएको घोषणा गर्यो । राणाको मृत्युको सात महिनापछि उनको स्वास्थ्य जाँचमा लापरबाही भएको र एक वर्षसम्म उनको नेतृत्त्वमा जोखिमपूर्ण उडान भएको रहस्य खुलेको छ ।
क्याप्टेन राणाको मृत्यु हुनुभन्दा एकवर्ष पहिले नेपाल एयरलाइन्सले आफ्ना पाइलटहरुको स्वास्थ्य परीक्षण गराएको थियो । डा. राजीव देवको नेतृत्त्वमा रहेको मेडिकल टिमले डा. ऋषि खत्रीले गरेको क्याप्टेन राणाको स्वास्थ्य परीक्षण रिपोर्टका आधारमा ‘फिट टु फ्लाइट’ सिफारिस गरेको थियो । सो रिपोर्टपछि राणा नियमित उडान भरिरहेको थिए । ०७७ मंसिर ९ गते क्वालालाम्पुरको उडान भर्नुभन्दा दुईघण्टा अगाडि छातीमा असामान्य दुखाई भएपछि ह्याम्स अस्पताल पुर्याइएका राणाको भोलिपल्ट मृत्यु भयो । राणाको असामयिक मृत्युपछि उनको परिवारले नेपाल मेडिकल काउन्सिलमा एक वर्षअघि भएको राणाको स्वास्थ्य जाँच र रिपोर्टबारे छानविनका र दोषीलाई कारबाहीका लागि उजुरी दिएको थियो ।
काउन्सिलले घटनाको छानविनका लागि राणाको परीक्षण रिपोर्ट मगाएर पाँचजना नेपालका बरिष्ठ मुटुरोग विशेषज्ञहरुलाई अध्ययन गर्न दियो । पाँचै जना मुटुरोग विशेषज्ञहरुले क्याप्टेन राणाको टीएमटी (मुटुको नलीमा बन्द भएको छरछैन भन्ने हेर्ने) परीक्षण पोजेटिभ देखिएको जवाफ दिएका थिए । साथै टीएमटी रिपोर्टमा देखिएको समस्याका आधारमा कुनै पनि पाइलट, बन्जी जम्पर वा स्काई ड्राइभिङ गर्न नमिल्ने र त्यास्तो रिपोर्ट भएको व्यक्तिलाई सम्बन्धित काम गर्नबाट तत्कालै रोक्नुपर्ने भनेर उनीहरुले रिपोर्ट लेखेका थिए । पाँच विशेषज्ञहरुले दिएको रिपोर्टका आधारमा राणाको मुटु सम्बन्धि समस्याको परीक्षण रिपोर्ट दिने डा। खत्रीलाई काउन्सिलले बोलाएर छानविन गरेको थियो । छानविनका आधारमा डा खत्रीको जवाफ चित्तबुझ्दो नआएपछि उनलाई कारबाही गरिएको काउन्सिलले जनाएको छ । क्याप्टेन राणाको परीक्षण सम्बन्धि सबै कागजात हेर्दा गम्भिर चिकित्सकीय त्रुटि पाइएको प्रवक्ता अधिकारीले बताए ।
प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार ६ : ०९ बजे
प्रतिक्रिया