काठमाडौँ । रामेछाप घर भई हाल काठमाडौँको कपन बस्दै आउनुभएकी रमा गिरीले सडक छेउमा बसेर कागती र खुर्सानीको व्यापार गर्न थालेको डेढ दशक भन्दा बढी भइसक्यो । बेलुकाको समयमा सडक छेउमा बसेर एक भागको बीस रुपैँयाको दरले कागती र खुर्सानी बेच्ने रमा यही पेसाबाट गुजारा चलाइरहेको बताउनुहुन्छ ।
उमेरले ५५ वर्ष पुग्नुभएकी गिरी आफ्नै पाखुरीको कमाइबाट आएको पैसाले जीवन निर्वाह गर्न पाएकोमा सन्तुष्ट हुनुहुन्छ । श्रीमानले दोस्रो बिवाह गरेर अलग्गै बस्न थालेदेखि आफ्ना दुःखका दिन सुरु भएको उहाँले बताउनुभयो । कपनको मिलनचोक स्थित खहरेमा तरकारी बजार छ । त्यसै बजारको सडक छेउमा बसेर उहाँले बाह्रै महिना कागती र खुर्सानीको व्यापार गर्नुहुन्छ ।
गिरीको एक छोरा र दुई छोरीहरू छन् । दिउँसोको उखरमाउलो गर्मीसँगै प्रत्येक दिन घामपानी नभनेरै दुःख गरेरै कमाएको पैसाबाट छोरा र छोरीहरूलाई १२ कक्षसम्म पढाउन सकेकोमा रमाले खुसी व्यक्त गर्नुभयो । ‘एक्लो महिलाले स–साना बच्चाहरूको लालन-पालन र शिक्षा दीक्षा मेरोलागि बढो कठिन थियो । लगानी गर्ने पैसा पनि थिएन कसैले रोजगारी पनि दिँदैनथे ,यही अमिलो कागति र पिरो खुर्सानीले मलाई साथ दिए’।’रमाले विगत सम्झनुभयो ।
सानो लगानीमा सुरु गरेको कागती व्यापारले कहालीलाग्दो जीवनलाई सहज बनाउँदै लगेको उहाँले बताउनुभयो । ‘मेरो सहारा भनेकै यी नै हुन्। दुःखसुख गरेर बच्चा पढाएको छु, छोरा छोरीले राम्रो काम पाए त दुई चार रुपैयाँ कमाउँथे होला तर भनेजस्तो काम पाइँदैन, यही कागती र खुर्सानीले बचाएको छ’, उहाँले भन्नुभयो । ‘गरिबको त सहारा पनि कोही हुँदो रहेनछ। समय खराब छ भने पाइनसम्मको दुःख पाइँदो रहेछ ।’ रमाले दुःख संझनु भयो ।
श्रीमानसँग छुटेपछिका सुरुका दिनहरूमा छोराछोरी पाल्नकै लागि भए पनि आफूले अर्काको घरमा काम गर्न थालेको उहाँले बताउनुभयो । मासिक ७ सय को काम थियाे, त्यो पनि भनेको बेलामा तलब नदिने,काम पनि धेरै लगानी यसरी अर्काको घरमा दास भएर त कतिन्जेल बस्ने भनेर सानो लगानीमा आफ्नै व्यवसाय सुरु गरे’ उहाँले भन्नुभयो ।
‘करिब १५ वर्ष अगाडिको कुरा हो । काठमाडौँको कपनमा सुरुमा ठेला गाढा किनेर साग र कागतीको व्यापार सुरु गरे । ३ मुठाको १० रुपैयाँमा साग खरिद गरी मुठाको ५ रुपैयाँमा बिक्री गर्थे । पहिलो चोटि थालेको व्यवसाय केही थाहा थिएन ३ मुठाको १० रुपैंयामा किनेर रु ५ मा बेच्ने गरेको थिए, फाइदा ५ रुपैयाँ हुँदो रहेछ, केही होलाकी भन्ने आसामा काम गर्न थाले तर उल्टै २० हजार घाटा खानु पर्यो ’, उहाँले भन्नुभयो ।
व्यापार घाटा खाए पनि आफूले व्यवसायलाई भने निरन्तरता दिन नछोडेको उहाँले सुनाउनुभयो । सागबाट सुरु गरेको व्यवसायमा कागती र खुर्सानी थपेर बेच्न थालेपछि भने आफ्नो व्यापार राम्रो हुँदै गएको उहाँले बताउनुभयो । आजभोलि धेरै कागतीको व्यापार नभएको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुहुन्छ ‘सुरुसुरुमा एउटा दुइटा मात्र कागतीको पसल थियो, एक दिनमा १ ढकसम्म कागती बिक्री गरे पनि अहिले बजार बढ्दै गएकाले दैनिक दुई तीन केजी मात्र कागती बेच्न सकेको बताउनुभयो ।
दिउसोको ४ बजे देखि बेलुकी ८ बजेसम्म बजार छेउमा बसेर कागती र खुर्सानी बेच्ने गरेको उहाँले बताउनुभयो । यही काम नै उहाँको परिवारको आम्दानीको प्रमुख स्रोत भएको उहाँले बताउनुभयो । हुर्किएका छोराछोरीलाई कुनै काम पाए आफ्नो जीवन सजिलो हुने भए पनि कुनै काम नपाएको उहाँले गुनासो गर्नुभयो । छोरीको लागि एउटा काम पाए राम्रोसँग पढाउन सकिन्थ्यो भन्ने चिन्तामा रहेकी उहाँले अबको महँगीमा छोरीको थप अध्ययन कसरी गर्ने होला चिन्ता व्यक्त गर्नुभयो । ‘जस्तो पाए त्यस्तै काम लगाउनलाई पनि डरमर्नु छ, बोल्नेको पिठो बिक्छ नबोल्नेको चामल पनि बिक्दैन, राम्रो काम गर्नको लागी पनि सोर्सफोर्स लगाउनुपर्ने रहेछ, हामी जस्ताको लागि कसले बोलिदिने ? ’उहाँले पश्न गर्नुभयो ।
केही समय अघि भनसुन गरेर सोलर पसलमा छोरीले काम पाए पनि कक्षा १२ को परीक्षामा बिदा नदिएका कारण छोरीले जागिर छोड्नु परेको उहाँले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, ‘बल्लबल्ल छोरीले काम गर्न थालेकी थिई त्यहीपनि कक्षा १२ को परीक्षामा साहुँले बिदा नदिएर छाड्न्नुपर्यो ।’ अहिलेसम्मको अध्ययनलाई समाप्त पार्नुभन्दा बरु जागिर छोडेर भए पनि परीक्षा दिन ठिक ठाने, आफूले त पढिएन र दुःख पाए बच्चाहरूको भविष्य नबिग्रियोस् ।’ लामो श्वास तान्दै रमाले दुःख पोख्नुभयो ।
तातो घाम होस् या झमझम पानी नै किन नहोस् सडकको छेउमा बसेर बटुवालाई कुरेर बसिरहने रमा किन्ने भन्दा पनि कागतीको मूल्य सोध्ने बढी आउने गरेको बताउनुहुन्छ । मलिनो मुहार लगाउँदै उहाँले भन्नुभयो, दुःखै दुःख गर्दा गर्दै यहाँसम्म आइपुगे । श्रीमानको सहारा नपाए पनि आफूले दुःख गरेर जीवन चलाएकोमा सन्तुष्ट छु।’
चाबहिलमा रहेको तरकारी बजारबाट ५,६ के जी कागती खरिद गरी बिक्री गर्ने गरेको उहाँ बताउनुहुन्छ । यसरी एक दिनमा १५ सयदेखि २ हजारसम्मको कागती बिक्री गर्ने गरेको उहाँले बताउनुभयो । दोबाटोमै बसेर भए पनि मिहिनेत गरी जीवन चलाउँदा पनि महानगरपालिकाले लखेट्ने गरेकोमा उहाँको गुनासो गर्नुभयो । दुःखीका दुःखमाथि महानगरले पनि दुःख दिन्छ, यी दुःखका दिनहरू कहिले हट्लान् खै ? ’उहाँले प्रश्न गर्नुभयो ।
प्रकाशित मिति : १२ जेष्ठ २०८१, शनिबार ५ : ०१ बजे
प्रतिक्रिया