राप्रपाको काठमाडौँमा मोटरसाइकल ऱ्याली

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपाल सरकार समक्ष पेस गरेको ४० बुँदे माग पूरा गर्न माग गर्दै राजधानी काठमाडौँमा विरोध प्रदर्शन गरेको छ ।

बबरमहलमा जम्मा भई पार्टीले माइतीघर, थापाथली, त्रिपुरेश्वर, सुन्धारा, न्युरोड, जमल, महेन्द्र सालिक हुँदै नारायणहिटीसम्म मोटरसाइकल ऱ्याली गरी प्रदर्शन गरेका हुन्।

संवैधानिक राजतन्त्रका पुनस्थापनासहित संघीयता र धर्मनिरपेक्षताको खारेजीको माग गर्दै आएको राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै आइरहेको छ ।

राप्रपाले राखेको ४० बुँदे मागपत्रमा सरकारी कर्मचारी तथा पेसागत दलीय भ्रातृ संगठनहरूको खारेजी हुनुपर्ने, संवैधानिक नियुक्तिहरूमा दलीय भागबन्डा नहुने संवैधानिक सुनिश्चितता हुनुपर्ने, शिक्षा र स्वास्थ्य सुधार हुनुपर्ने, ०४६ सालपछि उच्चपदस्थ नेता, कर्मचारी तथा परिवारको सम्पत्ति छानबिन गर्नुपर्नेलगायत उल्लेख गरेको छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०८१, मंगलबार  ४ : १७ बजे