झापा । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले कम्युनिष्टहरूले राज्यसत्तालाई लक्ष्य होइन जनताको अवस्था बदल्ने माध्यमका रूपमा प्रयोग गर्नुपर्ने बताउनुभयो ।
पार्टीको दोस्रो मेचीनगर नगर अधिवेशनको उद्घाटन कार्यक्रममा आज झापाको काँकडभिट्टामा उहाँले जनताको अवस्था बदल्न एमालले समृद्ध नेपाल र सुखी नेपालीको सुझबुझपूर्ण नारा अघि सारेको बताउनुभयो । अवसर र सुविधाका लागि राजनीतिको नेतृत्वमा पुग्न चाहने प्रवृत्तिलाई हटाएर जनताको पक्षमा काम गर्नुपर्नेमा उहाँको जोड थियो ।
“सत्ता भनेको नेताले कुर्सी पाउने हो, राम्रो सुविधा र अवसर पाउने हो भन्ने गलत बुझाइ बनिरहेको छ”, उहाँले भन्नुभयो, “राजनीतिको नेतृत्व तहमा पुग्न चाहनेले सुविधा होइन, जिम्मेवारीको गह्रुँगो भारी बोक्न तयार हुनुपर्छ ।”
प्रकाशित मिति : ५ जेष्ठ २०८१, शनिबार १० : ३१ बजे
प्रतिक्रिया