काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुर महानगरपालिका–२१ खोकनामा भएको चोरी घटनामा संलग्न रहेको अभियोगमा छजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा रामेछाप दोरम्बा गाउँपालिका–४ गौसरा घर भई हाल ललितपुर महानगरपालिका–१५ खुमल्टार बस्ने ३७ वर्षीय कमल थापामगर, सोही ठाउँका ३५ वर्षीय धनलाल थापामगर, सन्धुपाल्चोक घर भई हाल काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–११ कपन बस्ने २८ वर्षीय सुवास सुनार, कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानीका ४१ वर्षीय रमेश विक, काठमाडौँ टोखा नगरपालिका–३ बस्ने ४१ वर्षीय योगेश डाँगी तथा सप्तरी सुरुङ्गा नगरपालिका–२ बस्ने २२ वर्षीय मोहम्मद समीर रहेका उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो ।
गत वैशाख ७ देखि ९ गतेको बीचमा ललितपुर महानगरपालिका–२१ खोकनास्थित नवराज गुरुङको घरमा कोही नभएको समयमा सुन–चाँदीका गरगहना तथा आइफोनलगायतका धनमाल चोरी भएको थियो । पक्राउ परेकाहरुलाई बरामद गरिएको सामानसहित आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको प्रवक्ता रेग्मीले बताउनुभयो ।
प्रकाशित मिति : ५ जेष्ठ २०८१, शनिबार १० : ०५ बजे
प्रतिक्रिया