यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

रवि लामिछाने र गगन थापा आमने–सामने !

काठमाडौँ । राजनीतिमा लागेकाहरूलाई चर्चा नौलो विषय होइन। तर चर्चा के विषयमा भन्ने चाहिँ महत्त्वपूर्ण हो ।

उपप्रधान तथा गृह मन्त्री रवि लामिछाने छोटो समयमा राजनीतिक छलाङ मारेर यसै चर्चित हुनुहुन्छ भने नेपाली काँग्रेसका महामन्त्री गगन थापा त्रि–चन्द्र क्याम्पसमा आन्दोलन गर्दा ढुङ्गा हाने देखि नै चर्चित हुनुहुन्छ ।

तर पछिल्लो चर्चाको विषय र प्रसङ्ग भने फरक छ ।

यति बेला नेपाली काँग्रेस पार्टी नै रास्वपाका सभापति तथा उपप्रधान मन्त्री रवि लामिछानेप्रति कडा रूपमा प्रस्तुत छ । विशेषगरी सहकारी प्रकरणमा मन्त्री लामिछानेको नाम जोडिएको भन्दै त्यही घटनाको छानबिन गर्न संसदीय समिति गठन हुनुपर्ने काँग्रेसको एकसूत्रीय माग छ । रास्वपालगायतका सत्तारूढ दलले यो कुरा मानिरहेको छैन ।

काँग्रेस पार्टी नै आक्रामक भैरहेका बेला खासै टीकाटिप्पणीमा अगाडि नदेखिनुभएका गगन थापाले शुक्रबार भने कडा अभिव्यक्ति दिनुभयो । संसद्को बैठकमा बोल्ने क्रममा थापाले मन्त्री लामिछानेको विरुद्धमा सबैखाले वाक्अस्त्र प्रयोग गर्नुभयो । यतिसम्म कि, मन्त्री लामिछानेलाई किन डराएको र किन भागेको भन्दै नैतिक प्रश्न नै गर्नुभयो । थापाले सदनमा मन्त्री लामिछानेले स्वयं निवेदनमा हस्ताक्षर गरेर ऋण लिएको प्रमाण नै रहेको दाबी गर्दै सत्तापक्षले धोएर र पखालेर यो सफा नहुँदै भन्दै कटाक्ष समेत गर्नुभयो ।

संसद्‍मा बोल्न नपाउनुभएका मन्त्री लामिछानेले भने संसद् भवन परिसरमा बोल्दै काँग्रेस महामन्त्री गगन थापालाई ऋण लिएको प्रमाण ल्याउन आग्रह गर्दै दुबै जनाले यो विषयमा राजनीतिक भविष्य दाउमा राख्ने चुनौती दिनुभयो ।

मन्त्री लामिछाने भन्नुभयो,  'माननीय गगन थापाले कागजमा हस्ताक्षर गरेर ऋण लिएको प्रमाण छ भन्नुभयो। उहाँलाई चुनौती छ, मैले निवेदन दिएर ऋण लिएको प्रमाण दिनुभयो भने म राजनीति छोडिदिन्छु। त्यो दिन सक्नुभएन भने उहाँले राजनीति छोड्नुपर्ने हुन्छ।  यो स्वीकार गर्न तयार हो ?’

गगनले यसको जवाफ तुरुन्तै फर्काउनुभयो, 'छोडिदिए हुन्छ।'

यो लगत्तै अहिले काँग्रेस र रास्वपा कार्यकर्ताको दोहोरीले सामाजिक सञ्जाल रङ्गीन भएको छ ।

राजनीतिक विषयमा दुई पक्षबीच आरोप प्रत्यारोप हुनु सामान्य विषय हो । तर रवि र गगनबीचको यो संवादले बढी महत्व पाउनुको मूलकारण हो, दुई चर्चित नेताबीचको विगतको मिठो सम्बन्ध ।

सङ्घीय निर्वाचनमा मन्त्री रवि लामिछानेको दल राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलोपटक सहभागिता लिँदा मन्त्री लामिछाने र नेता गगनसँगको सम्बन्ध खुब चर्चामा थियो । विशेष गरी काठमाडौँ–४ मा रास्वपाले आफ्नो उम्मेदवार नै नराख्नुले नै दुई बीचको प्रगाढ सम्बन्ध रहेको तथ्य लुकेको थिएन । अझ काठमाडौँ–६ मा काँग्रेस नेता भीमसेनदास प्रधान पराजित भए पछि नेता गगनले आफूलाई सहयोग नगरेको खुलासा गरिदिनुभएको थियो। भीमसेनदासलाई रास्वपाका नेता शिशिर खनालले हराउनुमा प्रत्यक्ष अप्रत्यक्ष भूमिका गगनको रहेको आरोप त्यसबेला चर्चित नै भएको थियो । त्यसबेला रास्वपाले काठमाडौँमा ल्याएका सबै सिट घण्टी काँग्रेसको मद्दतमा आएको भन्दै विरोधका आवाजहरू खुबै घन्केका थिए ।

यति मात्र होइन, मन्त्री लामिछानेको नागरिकता सम्बन्धी विवाद चलिरहँदा उहाँले आफूलाई नागरिकतासम्बन्धी आरोप आउनु र  गगन थापालाई बाख्रा पालन गर्दा सरकारी अनुदानको अनियमितता गरेको आरोपले नछोडेको जस्तै रहेको भन्दै आफू मात्रै होइन गगनको समेत बचाउमा थुप्रै शब्द खर्चिनुभएको थियो ।

यस्तै स्वर्णिम वाग्लेको रास्वपामा सम्मानजनक प्रवेश र लोभलाग्दो चुनावी विजयका समयमा पनि गगनको रास्वपा प्रवेशको सम्भावनाबारे आम स्तरमा समेत बहस छेडिएकै थियो । गगनले तनहुँको चुनावी सभामा रास्वापाको उछित्तो काढे पनि एउटा पक्का कुरा के हो भने त्यसबेलासम्म रवि–गगनको सम्बन्ध विशिष्ट नै थियो ।

तर शुक्रबार भने वाककलामा पारङ्गत यी दुई नेताको बोली विगतको मिठासपूर्ण सम्बन्ध भुलाउने खालकै रह्यो। राजनीतिक दलको रूपमा सुरू भएको आरोप-प्रत्यारोपको श्रृङ्खला व्यक्तिगत स्तरमा पुग्नु भनेको यसबारे दुबैजना गम्भीर हुनुहुन्छ भन्ने यथार्थको सङ्केत नै हो । पार्टी भित्र रास्वपाप्रति नरम भएको आरोप चिर्न समेत गगनको कडा अभिव्यक्ति आउनु स्वाभाविक हो । त्यसैले उहाँले आफ्नो रास्वपाको लागि मनमा रहेको सदाशयतालाई एउटा कुनामा राखेर आलोचनाको तिखो बाण प्रहार गर्नुभयो । उपप्रधान मन्त्री रविको प्रतिक्रिया र चुनौतीपूर्ण लवजको गहिराई महसुस गर्ने हो भने यी दुईको सम्बन्धमा तितोपन आएकै हो।    

त्यसो त राजनीतिमा स्थायी शत्रु र मित्र त हुँदैनन्। भोलिको दिनमा दुई नेता अँगालो मारेर साथै उभिएमा अचम्म मान्नु त पर्दैन । तर कुनै समय रवि लामिछानेलाई पार्टीमा प्रभावशाली शैलीमा भित्र्याउन चाहनुभएका गगन थापा नै अहिले रवि विरोधी मोर्चाको अग्रपङ्कितमा उभिँदा यसले काँग्रेस सभापति शेरबहादुर देउवालाई भित्रभित्रै राहत भने मिलेकै हुनुपर्छ । 

 

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार  ११ : ४८ बजे