यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

मधेसमा  सरकार फेर्न काठमाडौँमा छलफल 

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालमा विभाजन भएपछि मधेशमा  सरकार फेर्न  छलफल सुरु भएको छ। मधेस प्रदेशमा विगत दुई दिनयता देखिएका परिदृश्यले उपेन्द्र यादव र उहाँको पार्टी जनता समाजवादी पार्टी (जसपा) नेपालका लागि निकै कठिनाइका दिन सुरु भएको सङ्केत गरेको छ । केन्द्रमा पार्टी विभाजनको मार खेपेका यादवका लागि प्रदेशमा अर्को झड्का लाग्ने देखिएको छ ।

  मधेस प्रदेशको जसपाको सरकार परिवर्तन गर्न केही दिनदेखि जनता समाजवादी पार्टी नेपाल  बाहेकका तीनदलसंग केन्द्रमा शीर्ष तहमा छलफल सुरु भएको मद्येका एक मन्त्रीले चक्रपथलाई बताए। यसका  लागि सिके राउत नेतृत्वको जनमत पार्टीले मुख्यमन्त्रीका लागि पहल गर्न सुरु गरेको छ। त्यसै गरी मधेशमा सबैभन्दा ठुलो दलका रूपमा रहेको  एमाले माओवादी पनि सरकारको नेतृत्व आफ्नो  पक्षमा ल्याउन लागि प्रयासरत रहेको बताइएको छ।   

     जनमतले मुख्यमन्त्रीको लागि बार्गेनिङ गरेर एमाले र माओवादीसँग पावर सेयरिङको कुरा मात्र गरिरहेको छैन, समर्थन फिर्ता लिने एमाले र माओवादीको तयारीले जसपाको मुख्यमन्त्री  पद पनि समस्यामा परेको छ । जसपाको मुख्यमन्त्री पद खुस्किने बित्तिकै उपेन्द्र यादवको साथ छोडेर विभाजित जसपाको टोली अशोक राईतिर सांसदहरू लाग्ने सम्भावना हुन्छ । अहिले त्यही प्रयास भइरहेको स्रोतले बतायो ।

अशोक राईको पक्षमा  मधेस प्रदेशका ६ जना सांसद देखिएका छन् । तर, उनीहरू पनि प्रस्ट रूपमा आउन भने सकेका छैनन् । प्रदीप यादवले सांसदहरूको  सङ्ख्या बढाउने प्रयास गरिरहेका छन् । त्यो प्रयास सफल  भए नौ जनासम्म पुग्ने पनि अनुमान गरिएको छ । तर, मुख्यमन्त्रीबाट जसपाका सरोज यादवलाई हटाउन सकिए राईको पक्षमा थप सांसद आउन सक्ने अनुमान गरिएको छ ।   अहिले एमाले, माओवादी केन्द्र र जनमत त्यही  रणनीतिमा रहेको बताइएको छ । उनीहरूले उक्त रणनीति सफल भएमा मुख्यमन्त्री  सरोज यादव  नै राईको पार्टीमा आउन सक्ने पनि बताइएको छ । त्यसो त,  पूर्व मुख्यमन्त्री लालबाबु राउतलाई पनि फकाउने क्रम जारी रहेको स्रोत बत्ताउँछ ।

  पर्साबाट निर्वाचित राउतलाई नेता प्रदीप यादवले फकाइरहेका छन् । उनीहरूको एउटै क्षेत्र  हो । राउतको क्षेत्रमै पर्ने वीरगन्ज महानगरका मेयर राजेन्द्रमान सिंह पनि प्रदीप यादवसँग लागेको खबर छ ।

 एक मन्त्रीले भने  मधेशमा जसपाको सरकार फेर्ने विषयमा तीन पार्टी, एमाले, माओवादी र जनमत पार्टीले छलफल तीव्र पारेका छन्, नेतृत्व कसले गर्ने भन्ने विषयमा सहमति हुन सकेको छैन। 

२०७९ साल पुस २७ मा नियुक्त भएका जसपाका मुख्यमन्त्री सरोजकुमार यादवले १६ महिनाको बिचमा  तीन पटक विश्वासको मत  लिइसक्नु भएको छ।  १ सय ७ सदस्य रहेको मधेस प्रदेशसभामा बहुमतका  लागि ५४ सङ्ख्या आवश्यक पर्छ । अहिलेका मुख्यमन्त्री रहेका सरोजकुमार यादवलाई जसपाका १९, एमालेका २५ , माओवादीका ९ नेकपा एसका ७ र लोसपाका ५ सांसदको समर्थन छ। 

अहिले सरकार परिवर्तनका लागि छलफल सुरु गरेका एमालेसंग २५, माओवादीसँग ९ र नागरिक जनमत पार्टीसँग १३ सांसद रहेका छन् । यो सङ्ख्या  सरकार बनाउनका लागि जम्मा ७ संसद्को अपुग देखिएको छ। सरकार परिवर्तन भएको खण्डमा  विभाजित जसपाका ७ सांसद  सरकार परिवर्तनको पक्षमा आउने देखिएको एक नेताले बताए। यदि जसपा बिभाजन भएको खण्डमा  ७ सिट भएको लोसपालाई मनाएर भए पनि सरकार  फेर्न छलफल भइरहेको ती नेताले बताए। 

  

 

 

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  ३ : २८ बजे