मैले पार्टी फुटाउन लागेको हल्ला फैलाईयोः खनाल 

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आफूले पार्टी विभाजन गर्न लागेको  हल्ला फैलाइएको बताउनुभएको छ  । 

बुधवार विज्ञप्ति जारी गर्दै उहाँले जसपापछि ६ जना सांसद लिएर आफूले पार्टी विभाजन गर्न लागेको सुनियोजित प्रचार गरिएको बताउनुभएको हो  । “केही दिनअघि मात्र तत्कालीन ‘जनता समाजवादी पार्टी नेपाल”समेत विभाजित भएको छ ।

यही सिलसिलामा केही दिनदेखि हाम्रो गौरवमय पार्टी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पनि विभाजित हुँदै छ, ६ जना सांसद लिएर झलनाथ खनालले संसदीय दल फुटाउँदै छन् भन्ने हल्ला बडो तीव्र रूपले फैलाइएको छ,” विज्ञप्तिमा भनिएको छ, “केही अवाञ्छित, स्वार्थी र कम्युनिस्ट विरोधी तत्त्वहरूले सुनियोजित रूपले यस्तो प्रचार गरेका छन् । त्यसले पार्टी व्यापी रूपमा एउटा भ्रमको कुहिरो फैलाइदियो ।” 

उहाँले   पार्टी अधिवेशनको सम्मुखमा फैलाइएको प्रचारप्रति होसियार भई एकताबद्ध हुन आह्वान समेत गर्नुभएको छ  । “पार्टीका सम्पूर्ण नेता कार्यकर्ता, समर्थक र शुभेच्छुक कमरेडहरू तथा साथीहरू , प्रतिकृयावादीहरू, औसरवादीहरू र पार्टी विरोधी क्षुद्र तत्त्वहरूका यस प्रकारका अनर्गल प्रचारबाट होसियार बनौँ, वर्तमान नयाँ समीकरणमा हाम्रो समर्थन र सहभागितालाई जारी राखौँ, पार्टी महाअधिवेशनको तयारीमा हरेक प्रकारले एकताबद्ध भएर जुटौँ,” खनालको आह्वान छ ।

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार  १२ : ३१ बजे