वैशाख १२ को त्यो भूकम्प : नौ वर्ष भयो अझै जाँदै छन् पराकम्पन

​​​​​​​काठमाडौँ ।  नेपालमा २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर विनाशकारी भूकम्प गएको नौ वर्ष भयो । त्यसपछि पनि लगातार भूकम्प र पराकम्पन जाने क्रम जारी छ ।

नौ वर्षअघि आजकै दिन गोरखाको बारपाक क्षेत्रलाई केन्द्रविन्दु बनाएर महाभुकम्प गएको थियो । स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरी महाभूकम्पको स्मृति दिवस मनाइँदैछ । 

वैशाख १२ को भूकम्पको मात्र ६० हजारभन्दा बढी पराकम्पन गएका थिए । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र स्थापना भएयता पूर्वदेखि पश्चिम नेपालसम्म गएका प्रमुख भूकम्पसमेत गरेर डेढ लाखभन्दा बढी पराकम्पन गएका छन् । केन्द्र २०३७ सालमा स्थापना भएको हो ।

वैशाख १२ को मूल भूकम्प र त्यस पछि गएका अन्य भूकम्प र कैयौँ पराकम्पनका कारण ८६५९ जनाको मृत्यु भएको थियो भने ३२७ बेपत्ता भए ।

मृत्यु भएकाहरू मध्य ४७७१ महिला तथा ३८८७ पुरुषहरूको मृत्यु भएको थियो । जसमा एकको लिङ्ग खुलेको थिएन । साथमा २१९५२ घाइते भएका थिए । घाइतेहरूमा १०१६३ महिला तथा १०९८७ पुरुष थिए । साथै नुवाकोट जिल्ला अस्पताल पूर्ण रूपमा क्षति पुग्दा अस्पताल भित्र घाइते भएका ८०२ को कुनै पहिचान राखिएन । त्यस्तै ५ लाख ७१७ घर ध्वस्त भए भने २ लाख ६९ हजार १९० घरहरूमा आंशिक क्षति पुगेको थियो ।

१५०० सम्पदाहरूका साथै ४२३१ सरकारी भवनमा समेत क्षति पुगेको थियो । यस भूकम्पले मानवीय क्षतिका साथ साथै ५४४११ विभिन्न पशुहरूको समेत मृत्यु भएको थियो । यसरी देशमा सङ्कट पर्दा जनताहरूमा त्रास र पिडाले छटपटाउँदा समेत घाइते तथा पीडितहरूका नाममा आएको राहतहरूमा समेत जालसाजी गर्ने तथा दुरुपयोग गर्नेहरूको पनि कमी रहेन । सङ्कटका बेला पीडितका नाममा उठाइने राहत तथा आर्थिक सङ्कलनमा समेत गलत नियत भएकाहरूले व्यक्तिगत लाभ लिन छोडेनन् ।

यस अगाडि गएका भूकम्पहरूमा २०४५ साल भदौ ५ गते बिहान ५ बजे गएको भूकम्पमा ७२१ जनाले ज्यान गुमाएका थिए । १९९० माघ २ गते दिनको २ बजे गएको भूकम्पले ८५१९ जनाको मृत्यु भएको थियो । बि.सं. १८९० भदौ १२ गते साँझ ६ बजे ठुलो भूकम्प गएको थियो । यसको लगत्तै सोही राती पौने एघार बजे र ११ बज्नै लाग्दा समेत ठुलो पराकम्पन जाँदा झन् ठुलो क्षति पुगेको थियो । त्यस भूकम्पले ४१४ जनाको मृत्यु तथा १७२ जना घाइते भएका थिए भने ४०४० घरमा क्षति पुगेको थियो । त्यस भूकम्पमा सबैभन्दा बढी भक्तपुरमा २०० जनाको मृत्यु, १०४ जना घाइते तथा २ हजार घर भत्किएको थियो ।

भक्तपुरका मन्दिरहरू तीन चौथाइ भत्किएका थिए । बि.सं. १२८० देखि २०७२ सम्मका ८०० वर्षका नेपालका करिब ५० ठुला भूकम्पमा बि.सं. १३१२ असार ५ तथा १५६२ जेठ ३१ को भूकम्पलाई भयावह मान्ने गरिन्छ । १३१२ मा ७.८ रेक्टर भनिएको छ भने १५६२ लाई ८.६ रेक्टरको भनिएको छ । १३१२ को भूकम्पमा राजा अभय मल्लको मृत्यु भएको थियो । एक तिहाइ जनताको मृत्यु भएको थियो ।

चार महिनासम्म ठुला पराकम्पन गइरहँदा कतिपयले आफ्नो बस्ती नै छोडेर अन्यत्र बस्न गएका थिए । यस भूकम्पका कारण अन्नपूर्ण क्षेत्रमा आएको भूस्खलनले सेतीको पानी रोकिएर विशाल ताल बनेको थियो भने त्यो ताल केही समय पछि फुटेर आएको बाढीले पोखरा क्षेत्र पुरै हिलो गेग्रान तथा पानीले भरिएको थियो । त्यही विशाल पोखरी सुकेर बनेको भएर यसको नाम पोखरा रहन गएको थियो । बि.सं. १५६२ को भूकम्पको केन्द्रबिन्दु मुस्ताङको लोमाथाङ रहेको थियो ।

यस पटक भूकम्पमा पनि पोखरा क्षेत्र जलमग्न भएको प्रमाण पृथ्वीनारायण क्याम्पस परिसरमा रहेको विशाल ढुङ्गाको अध्ययनले देखाएको छ । यो भूकम्प नेपालको पोखरा देखि पश्चिममा गएको अन्तिम भूकम्प पनि हो । पोखरा देखि गढवालसम्मको ८०० किमी क्षेत्र एउटै विशाल टेक्टोनिक प्लेट्समा रहेको छ । तसर्थ यस क्षेत्रमा जाने विशाल भूकम्पको असर भारतीय राजधानी दिल्लीसम्म पुग्ने गर्दछ । ५०० वर्ष देखि हुन नसकेको यस क्षेत्र महाभूकम्पको पर्खाइमा छ ।

वैज्ञानिकहरूका अनुमान अनुसार यस क्षेत्रमा जाने भूकम्प ९ रेक्टर भन्दा माथिको नै हुनेछ । कहिले जाने निश्चित नभए पनि यस क्षेत्रमा जान सक्ने आगामी भूकम्पले ठुलो जनधनको क्षति भने अवश्य गर्नेछ । हरेक ठुला भूकम्पमा सुरुका ३० सेकेन्ड सचेतना स्वरूपका हुने गर्दछ । पृथ्वीको भित्री सतह देखि धरातल सम्म कम्पन आइपुग्नु अगाडि नै सुरक्षित ठाउँमा पुगिसक्नुपर्ने हुन्छ । धरातल पछि आउने कम्पनले नै संरचनाहरू भत्काउने काम गर्दछ ।

 

निरन्तर धक्का अझै ठुलो भूकम्पको शक्ति नेपालको जमिनमुनि संरक्षित छ भन्ने जनाउ हो । नौ वर्षयता बारम्बार आइरहेको भूकम्पको धक्काले चेतावनी दिइरहे पनि सुरक्षित भविष्यको अभ्यास र पहल हुन नसकेको विज्ञहरू औँल्याउनुहुन्छ । आफूलाई परेकोभन्दा देखेकाले लामो समय भूकम्पलगायतका घटना स्मरणमा राख्न सक्दैनन् । खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले भन्नुभयो, “जसले भोगेको हुन्छ, उसले अलि लामो समय सम्झन्छ तर त्यो पनि अरूको देखासिकीमा अघि बढ्छ ।” 

मानवीय स्वभावै बिर्सने प्रकृतिको हुनाले त्यसलाई झक्झकाइराख्न जरुरी हुने उहाँ औँल्याउनुहुन्छ । उहाँका अनुसार भवन विभागले भवन निर्माणसंहिता दिएको छ तर मानिसले त्यसलाई अनुशरण नगरी घर बनाउने, बनाइने संरचनाको सुरुवातदेखि नै मापदण्ड अनुसारको अनुगमन नहुने विषय पनि बिर्सने सूचकका रूपमा रहेका छन् । 

खानी तथा भूगर्भ विभाग अन्तर्गतको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारी पनि भूकम्पले क्षति गरेका क्षेत्रकाले जति महसुस गर्छन्, त्यति अरूले नगर्ने बताउनुहुन्छ । त्यसैले पनि भूकम्पको चेतावनीको बेवास्ता भइरहेको छ । कतिपय कुरा देशको आर्थिक अवस्थामा पनि भर पर्छ । उहाँले भन्नुभयो, “प्रायः सबैको ध्यान के खाने, के लाउने भन्नेमा बढी सीमित हुँदा भविष्यको सुरक्षित बास र समाजका लागि लगानी पहिलो प्राथमिकतामै पर्दैन ।” 

भूकम्पको उच्च जोखिममा रहेका देशको पाठ्यक्रममै जानकारीमूलक शिक्षा हुनुपर्ने उहाँको सुझाव छ । सरकार र अन्य सरोकारवाला निकायले पनि भूकम्पबारे दिवसबाहेक अन्य समयमा दिनुपर्ने सचेतनामूलक गतिविधि गर्ने चलन छैन । ठुलो समुदायलाई लक्षित गरिने प्रदर्शनी, सङ्ग्रहालय आदिको व्यवस्था गरेर निरन्तर भूकम्पबारे पनि जानकारी दिइएको छैन । 

सचेतना कम भएको प्रमाणै बझाङ, जाजरकोट, डोटीलगायतका क्षेत्रमा भूकम्पले पारेको मानवीय तथा भौतिक क्षति हो । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलका अनुसार मानिसको मस्तिष्कले कुनै पनि घटनालाई चार वा पाँच वर्षपछि बिर्सने गरेकाले पनि भूकम्पमा बढी क्षति भइरहेको छ । 

उहाँले थप्नुभयो, “विस्मृतिमा गएका त्यस्ता घटनालाई ताजा बनाउन जसले जुन माध्यमबाट बुझ्छ र जानकारी राख्न सक्छ ।” विगतको भोगाइ र सिकाइलाई त्यसरी नै सम्झाइरहनु पर्छ । सञ्चारमाध्यम, अध्ययन अनुसन्धान, विश्वका अभ्यासमार्फत निरन्तर बताइरहनुपर्ने हुन्छ । नेपालको भूकम्पको सन्दर्भमा सरकार र सरकारी निकायले केही पहल गरे पनि त्यो पर्याप्त नभएको उहाँले स्वीकार गर्नुभयो । 

प्रकाशित मिति : १२ बैशाख २०८१, बुधबार  ७ : ०७ बजे