झ्याप्लेखोलाबाट २५ शव निकालियो

घोङी खाने प्रतियोगिता हुँदै

​​​​​​​बाँके । आन्तरिक पर्यटन प्रवर्द्धन गर्न भन्दै बाँकेको कोहलपुरमा घोङी खाने प्रतियोगिता हुने भएको छ । नेपाल युवा परिषद् लुम्बिनी प्रदेशस्तरिय युवा सम्मेलनको अवसर पारेर घोङीको व्यवसायीकरण र ब्रान्डिङ गर्न उक्त प्रतियोगिता हुन लागेको होमस्टे संघका महासचिव कृष्ण चौधरीले जानकारी दिनुभयो । यसमा घोङी खाने तरिका र शैलीबारेसमेत जानकारी दिइने उल्लेख गर्दै उहाँले चार मिनेटमा एक किलो घोङी खानुपर्ने प्रावधान राखिएको बताउनुभयो ।

२०५ जना प्रतियोगि सहभागी हुने सो प्रतियोगितामा ४० किलो घोङी खपत हुने बताइएको छ । “हामीले घोङी कसरी खाएको भन्ने विषयमा मूल्याङ्कन गर्न  टिम बनाएका छौ” चौधरीले भन्नुभयो । महासचिव चौधरीले होमस्टे पनि युवाहरूको लागि अध्ययनको विषय भएको उल्लेख गर्दै यसलाई संस्कार, संस्कृति र पर्यटनसँग जोडन खोजिएको बताउनुभयो । 

होमस्टेबाट राम्रो आम्दानी गर्न सकिन्छ भन्ने सन्देश दिन खोजिएको भन्दै उहाँले युवाहरूले हेरेर पनि सीप सिक्न सक्ने उल्लेख गर्नुभयो । “खाना महोत्सवलाई पर्यटन आर्कषण गर्न एउटा औजारका रुपमा लिएका छौ” महासचिव चौधरीले भन्नुभयो । आइतवारदेखि तीन दिनसम्म सञ्चालन हुने सो सम्मेलनमा रैथाने एवं परम्परागत खानाका परिकारको प्रदर्शनी, रैथाने खाद्यान्न बीउको प्रदर्शनी, जीन बैङ्क अवलोकन तथा अध्ययनको विषयलाई पनि प्राथमिकता दिइएको छ । 

नेपाल युवा परिषद्का संस्थापक अध्यक्ष सरोज बानियाले सम्मेलनलाई पर्यटन र संस्कृतिसँग जोडन खोजिएको उल्लेख गर्दै सम्मेलनमा करिब ८ लाख ५० हजार खर्च हुने बताउनुभयो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले उद्घाटन गर्ने सो सम्मेलनमा राष्ट्रिय कृषि अनुवांशिक स्रोत केन्द्रका प्रमुख डा। बालकृष्ण जोशी, रैथाने अभियन्ता तिलक ढकाल, नेपाल पर्यटन बोर्डका पूर्व कार्यकारी सदस्य कृष्ण कुमार अर्याल लगायत सहभागी हुनुहुनेछ ।

प्रकाशित मिति : २० फाल्गुन २०८०, आइतबार  ९ : ४९ बजे