बागलुङ । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र निराशाजनक नभएको बताएका छन् । पञ्चकोटमा सञ्चालित अनन्त ब्रह्माण्डीय महायज्ञका अवसरमा आज आयोजित राष्ट्रिय अर्थतन्त्रको विकास तथा वित्तीय संस्थाहरुको योगदानसम्बन्धी सम्मेलनमा देशको अर्थतन्त्रमा सुधारका सङ्केतहरु देखिन थालेका बताए ।
अर्थतन्त्रका सूचकहरु सकारात्मक बन्दै गएका छन्, बाहिर प्रचार गरे जस्तो नकरात्मक नभएको अर्थमन्त्रीले स्पष्ट गरे । देशको अर्थतन्त्र सङ्कटमा रहेका बेला आफूले अर्थ मन्त्रालयको कार्यभार सम्हालेको र त्यसपछि क्रमशः अर्थतन्त्रमा सुधार आएको उनले बताए । ‘बैङ्क ब्याजदर घटेको छ, मूल्यवृद्धि दर घटेको छ, अरू धेरै सूचकहरु सकारात्मक छन्, अर्थतन्त्रमा क्रमशः सुधार हुँदै गएको छ । अर्थतन्त्रलाई सही ठाउँमा ल्याउन म प्रयत्न गरिरहेको छु’, मन्त्री महतले भने, ‘नेपालमा नराम्रा कुराको बढी प्रचार हुने गरेको छ, यहाँ यति धेरै सम्भावना छन्, हरेक नागरिकले सकारात्मक सोचका साथ स्वदेशमा नै कम गर्नुपर्छ ।’
अर्थमन्त्री महतले पछिल्लो समय पर्यटन क्षेत्र चलायमान भएसँगै बाह्य पर्यटकको आगमनमा वृद्धि हुँदा अर्थतन्त्रमा थप टेवा पुगेको बताए । पर्यटन र जलविद्युतमा अथाह सम्भावना रहेकाले ती क्षेत्रमा रोजगारी सृजना गर्नेतर्फ सरकारको ध्यान केन्द्रित रहेको उनले बताए । वैदिक सनातन हिन्दू धर्म नेपालीको मौलिकता भएको भन्दै यो धर्मबाट कोही पनि यताउता गर्न नहुनेमा उनले जोड दिए ।
प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार ७ : ११ बजे
प्रतिक्रिया