अहिले को सरकारमा हुन्छ, को हुँदैन भन्न नसक्ने अवस्था छ : केपी ओली

काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको परिस्थितिमा को सरकारमा हुन्छ को हुँदैन भन्न नसक्ने अवस्था रहेको बताउनुभएको छ ।

नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको सातौँ राष्ट्रिय महाधिवेशन समुद्घाटन कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै ओलीले संविधान र कानुनमा व्यवस्था नभएको अवस्थामा समेत केही मानिसहरू आफू प्रधानमन्त्री बन्छु भन्दै हिँडेका टिप्पणी गर्नुभएको हो । ‘राष्ट्रिय मान्यता प्राप्त नगरेका दलबाट प्रधानमन्त्री हुन्छन् भने आफू किन नहुने भन्ने पर्दो हो’, ओलीले भन्नुभयो ।

माधव नेपालप्रति कटाक्ष गर्नुहुँदै अध्यक्ष ओलीले अहिले पार्टी र संसदमा एक सिट पनि नभएको व्यक्ति समेत प्रधानमन्त्री बन्छु भन्दै हिँडेको अवस्था रहेको भन्दै कटाक्ष गर्नुभएको हो । ‘यहाँ त संसदमा पनि भएको, पार्टी पनि नभएको, एउटा सिट पनि नभएको मान्छे असार १५ गते प्रधानमन्त्री बन्छु भनेर पनि हिँड्छ’, ओलीले भन्नुभयो । एमाले त्यस्ता भित्र पर्ने पार्टी नभएको ओलीले स्पष्ट पार्नुभयो ।

एमाले आफ्नो दृष्टिकोण र इतिहास बोकेको पार्टी भएको उहाँको भनाइ छ । ओलीले अहिलेको देशको अर्थतन्त्रलाई कोभिडले प्रभाव पारेको छ भन्नु गलत भएको बताउनुहुँदै अहिले अर्थतन्त्र ओरालो लाग्नुको कारण वर्तमान गठबन्धन सरकार नै भएको स्पष्ट पार्नुभयो ।

कोभिड पछि सबै राष्ट्र पुनरुत्थान भइसक्दा पनि नेपालको अर्थतन्त्र भने कोभिडका कारण कमजोर भयो भन्नुको कुनै अर्थ नभएको उहाँको भनाइ छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार  २ : ५२ बजे