काठमाडौं । प्रतिनिधिसभाका सांसदहरुले युवाहरुलाई नेपालमै रोजगारी दिनसक्ने विश्वविद्यालय मात्रै आवश्यकता रहेको बताएका छन् ।
प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको आज सिंहदरबारमा बसेको बैठकमा नेपाल विश्वविद्यालय विधेयकमाथि सैद्धान्तिक छलफलमा भाग लिँदै सांसदहरुले नेपालको उच्च शिक्षामाथि विश्वास नभएको भन्दै वदेश पढ्न गएकाहरुलाई समेत स्वदेश फर्कान सक्ने पाठ्यक्रम लागु गर्ने गरी विश्वविद्यालय स्थापना गरिनुपर्नेमा जोड दिनुभयो ।
सांसदहरु छविलाल विश्वकर्मा, बद्री पाण्डे, रघुजी पन्त, देवेन्द्र पौडेल, सुमना श्रेष्ठ, डाक्टर तोषिमा कार्कीलगायतले गैरसरकारी लगानीमा संचलान गर्न लागिएको विश्वविद्यालयमा विज्ञ व्यक्तिहरु कुलपति चुनिनुपर्ने, सिपमुलक लागु गरिनुपर्ने, राजनीतिक दलको राजनीति गर्ने थलो बनाइन नहुने विचार व्यक्त गर्नुभयो ।
बैठकमा शिक्षाविद्हरु डाक्टर बालचन्द्र लुईँटेल, सुशन आचार्य, प्रमोद भट्टराईलगायतले भइरहेका विश्वविद्यालयभन्दा फरक र विश्वमा पहिचान दिन सक्ने गरी नेपाल विश्वविद्यालयले कार्यक्रम संचालन गरिनुपर्ने बताउनुभयो ।
बैठकमा नेपाल विश्वविद्यालय पूर्वाधार विकास समितिका अध्यक्ष डाक्टर अर्जुन कार्कीले नेपाल विश्वविद्यालय विश्वका उत्कृष्ट विश्वविद्यालयकै मोडलमा संचालन हुने गरी विधेयक ल्याइएको बताउनुभयो ।
प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलबार ४ : २९ बजे
प्रतिक्रिया