बालकुमारी घटनाको प्रतिवेदन अध्ययन गरेर निर्णय गरिन्छ : प्रधानमन्त्री

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहालले बालकुमारी घटनाको प्रतिवेदन अध्ययन गरेरमात्रै निर्णय गरिने बताएका छन्। उनले प्रतिवेदन पाइसकेको र अध्ययनकै क्रममा रहेको बताउनुभयो। 

'बालकुमारी घटनाको प्रतिवेदन अध्ययन गरेर निर्णय गरिन्छ। आयोग बनाएर छानविन गर्ने निर्णय सरकारकै हो। प्रतिवेदन अध्ययनको प्रक्रियामा छ। अध्ययनपश्चात् आवश्यक निष्कर्षमा पुग्छौं। यो सरकारको क्षेत्राधिकार हो। प्रतिपक्षले राजनीतिक संस्कार देखाउनुपर्छ,' उहाँले भन्नुभयो।

त्यस्तै तीन करोडभन्दा साना योजना संघमा नराखी प्रदेश र स्थानीय तहमा पठाइने बताउनुभयो। सिंहदरबार माओवादी केन्द्रको संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले संघीयतालाई बलियो बनाउन वित्तीय हस्तान्तरणमा जोड दिइएको बताउनुभयो।

'बजेटमा कनिका छर्ने तरिकाले विकास र समृद्धि हासिल गर्न सकिँदैन। अलि रणनीतिक महत्वका योजना मात्र संघमा राख्छौं। तीन करोडभन्दा साना योजना प्रदेश र स्थानीय तहले नै गर्छन्। बजेटको क्षेत्र तोकेर पठाइन्छ। आयोजना छनोटको अधिकार प्रदेश र स्थानीय तहलाई नै दिइन्छ,' उहाँले भन्नुभयो।  

प्रकाशित मिति : १२ फाल्गुन २०८०, शनिबार  १२ : २१ बजे