काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काम नगर्ने मन्त्रीलाई विश्राम दिनुपर्ने बताएका छन्। ललितपुरको गोदावरीमा पार्टीको महासमिति बैठकको समापन समारोहमा बोल्दै महामन्त्री थापाले काम नगर्ने मन्त्रीलाई विश्राम र दाग लागेका मन्त्रीलाई घर पठाउनुपर्ने बताए।
उनले स्थानीय तहदेखि केन्द्रसम्मै राम्रो काम नगर्ने नेताहरूलाई १० वर्षसम्म घरमा राख्नुपर्ने बताए। 'हामी निर्वाचन लड्छौं। सरकारमा जान्छौं। सरकारमा यस्तो काम गरौं कि अर्कोपटक चिन्ता गर्न नपरोस्। बरु काम नगर्ने मन्त्रीलाई विश्राम दिउँ। दाग लागेका मन्त्रीलाई घर पठाउँ। हामीले काम गरेर देखाउँ। काम देखाउन नसक्नेलाई अर्को वर्ष १० वर्ष घर बसाउँछु भनौं। अनि हाम्रो शक्ति आफैं बढ्दै जान्छ,' उनले भने।
उनले कानुन बदलेर भए पनि ठूला माछाहरू समातिनुपर्ने बताए। उनले भोट बढाउनुमात्रै कांग्रेसको कर्तव्य नभएर देश र समाजप्रतिको जिम्मेवारी पहिलो प्राथमकिता रहेको बताए। उनले कांग्रेस जनताका अभिभावक र सेवक दुवै बताएको बताए।
उनले अहिले पनि लाखौं मान्छे कांग्रेसप्रति आस्था राख्नेगरेको भन्दै कांग्रेसले आफ्नो धर्म छाड्नु नहुने बताए। उनले आम नागरिकको हित गर्नु कांग्रेसको धर्म रहेको भन्दै पार्टीभित्र कठोर अनुशासन पालना गराउन जरुरी रहेको बताए। त्यस्तो गरे कोहीसँग कुम जोड्न नपर्ने उनको भनाइ छ।
प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहिबार ९ : ५९ बजे
प्रतिक्रिया