काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले लघुवित्त र मिटरब्याजपीडितहरु पुनःआन्दोलित भएकाले उनीहरूका माग सम्बोधन गरी न्याय दिन आवाज उठाउनुभएको छ ।
बैठकको विशेष समयमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद् रोशन कार्कीले मिटरब्याजपीडितहरु धेरै दिनको यात्रा गरेर न्यायको खोजीमा काठमाडौँ आएकाले तिनलाई न्याय दिन आग्रह गर्नुभयो ।
नेकपा (एमाले)का सांसद सुनिता बरालले पीडित नागरिक आफ्ना माग बोकेर सरकारलाई सुनाउन हप्तौँ हिँडेर काठमाडौँ आउनु दुःखको कुरा भएको बताउनुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा तोसिमा कार्कीले बिरामीले कुन अस्पतालमा राम्रो उपचार पाउँछ भनेर तड्पिनुपर्ने र पाँच गुणासम्म बढी महँगो शुल्क तिनुपर्ने अवस्था रहेको बताउँदै आम नागरिक अस्पतालमा उपचार र खर्च नपाएर बन्धक भएकाले स्वास्थ्य संस्थालाई वर्गीकृत आधारमा शुल्क निर्धारण गरेर सेवा दिन माग गर्नुभयो ।
जनता समाजवादी पार्टीका सांसद रेखा यादवले विराट जुटमिलमा आगलागी हुँदा धेरै क्षति भएको भएकाले उचित क्षतिपूर्ति दिन आग्रह गर्नुभयो ।
जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त राउतले गठबन्धनका बैठकमा विपक्षीलाई कसरी प्रतिरोध गर्नेभन्दा पनि कसरी देश बनाउने भन्ने विषयमा छलफल हुनुपर्नेमा जोड दिनुभयो ।
नागरिक उन्मुक्ति पार्टीका गङ्गाराम चौधरी, नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल, आम जनता पार्टीका प्रभु साह, सांसद डा अमरेशकुमार सिंहलगायत उक्त विशेष समयमा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।
प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहिबार २ : ०६ बजे
प्रतिक्रिया