त्रिविको उपकुलपतिमा असफलसिद्ध मान्छे ल्याउँदैछन्: अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा असफलसिद्ध मान्छेलाई ल्याउने टिप्पणी गर्नुभएको छ।

आज काठमाडौँमा आयोजित पाँचौँ राष्ट्रिय सहकारी भेला-२०८० लाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो।

अध्यक्ष ओलीले भन्नुभयो, ‘अहिले त नयाँ तरिका निकालेका छन् भागबन्डा नगर्ने, एकलौटी गर्ने। असफलसिद्ध मान्छेहरुको छनोट गर्ने, अहिले त्रिविको उपकुलपतिमा तीन जना सिफारिस भएको छ छ क्यारे ! तीन जनामा पनि तेस्रो चाहिँ नियुक्ति हुन्छन् जस्तो लाग्छ मलाई छाँटकाट हेर्दा । किनभने धेरै असफल भएको मान्छे चाहियो नि ! त्यो मेरो अनुमान हो ।’

त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोटका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिक्षामन्त्री अशोक राईको नेतृत्वमा सिफारिस समिति बनाउनु भएको थियो । सिफारिस समितिले चित्रबहादुर बुढाथोकी, केशरजंग बराल र टंकनाथ धमलाको नाम प्रधानमन्त्रीलाई सिफारिस गरेको छ।

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार  ५ : ३८ बजे