कैलाली । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)का सुदूरपश्चिम प्रदेश कमिटी सदस्य खडक बम एमालेमै फर्कनुभएको छ ।
बम आइतबार सुखडमा आयोजना गरिएको एमाले कैलाली जिल्लाको नवौं अधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीको हातबाट खादा र अबिर लगाई एमाले प्रवेश गर्नुभएको हो ।
एमालेबाट फुटेर अर्को पार्टी बनाउने र कांग्रेसको सेवा गर्ने कामले मुलुक र जनताको हित नहुने र कम्युनिस्ट आन्दोलन पनि सफल नबन्ने ठहरसहित एमालेमै फर्किएको बमले बताउनुभएको छ ।
बम गौरीगंगा क्षेत्रमा प्रभाव राख्ने नेता हुनुहुन्छ । प्रदेश कमिटी सदस्य बमको नेतृत्वमा जिल्लाका पदाधिकारी र सदस्यहरु पनि एमाले प्रवेश गरेका छन् । प्रवेश गर्नेमा कैलालीका पदाधिकारीमा उपसचिव बखतबहादार विष्ट हुनुहुन्छ ।
बम र विष्टको नेतृत्वमा सो क्षेत्रका प्रभावशाली सबै नेता कार्यकर्ता एमाले फर्कनु भएको हो । नेता बमले अब माधव नेपाल र सुदूरपश्चिममा रहेका कुनैपनि नेताको भ्रममा नपरी एमाले फर्कन सबै नेता कार्यकर्तालाई अपिलसमेत गर्नुभएको छ ।
‘अब पनि माधव कमरेडको भ्रममा बसियो भने आफ्नो भविष्य बर्वाद त हुन्छ नै, देश र जनतामाथि पनि जानाजानी घात गरेको ठहर्छ, त्यसकारण नेकपा एकीकृत समाजवादीमा रहेका सबै नेता कार्यकर्ता साथीहरु एमालेमै फर्कनुपर्छ,’ बमले भन्नुभयो ।
प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार ९ : १० बजे
प्रतिक्रिया