जनकपुरधाम। मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश सभाबाट तेस्रोपटक विश्वासको मत पाउनु भएको छ । मधेस सरकारमा सहभागी जनमत पार्टीले गत माघ ९ गते समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको आज प्रदेश सभामा विश्वासको मतको लागि प्रस्ताव पेस गर्नु भएको थियो ।
आइतवारको प्रदेशसभामा उपस्थित कुल १ सय ४ सांसदहरु मध्ये मुख्यमन्त्री यादवको पक्षमा ६९ सांसद उभिएका छन । विपक्षमा कुल ३५ सांसद पुगेका छन । दोस्रो पटक सम्म बिश्वासको मत लिदै गर्दा मुख्यमन्त्रीलाई प्रदेशसभाको कुल सांसद सबैको समर्थन रहेको थियो । विपक्षमा कोही पनि थिएन ।
यसअघि गत जेठ १ गते मधेस सरकारमा रहेको नेकपा एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले ३०औँ दिनमा जेठ ३० गते दोस्रोपटक विश्वासको मत लिनुभएको थियो । सरकारलाई दिएको समर्थन कुनै दलले फिर्ता लिएमा पुन: ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।
नेपालको संविधान २०७२ को धारा १८८ को २ मा सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि ३० दिनभित्र मुख्यमन्त्रीले जुनसुकै बेला संसद् बैठक आह्वान गरी विश्वासको मत लिनसक्ने प्रावधान रहेको छ । मधेस प्रदेश सरकारमा एक सय सात प्रदेशसभा सदस्यमध्ये बहुमतका लागि ५४ सदस्यको समर्थन चाहिन्छ । प्रदेशसभामा सबैभन्दा ठूलो दलको रूपमा रहेको नेकपा एमालेको २३, नेपाली कांग्रेसको २२ र जनता समाजवादी पार्टी नेपालको १८ सिट रहेको छ ।
सभामा जनमत पार्टीको १३, लोकतान्त्रिक समाजवादी पार्टीको नौ, नेकपा माओवादी केन्द्रको नौ र नेकपा एकीकृत समाजवादी पार्टीको सात, नेपाल सङ्घीय समाजवादी पार्टी एक, नागरिक उन्मुक्ति पार्टी एक, राष्ट्रिय प्रजातन्त्र पार्टी एक सिट र तीन स्वतन्त्र रहेको प्रदेशसभा रहेका छन ।
प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार ७ : ४० बजे
प्रतिक्रिया