काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेले उठाएका महत्त्वपूर्ण सुझाव कार्यान्वयन गर्ने बताउनुभएको छ।
आइतबार एमाले सांसद कृष्णगोपाल श्रेष्ठले आफ्नो पार्टीले मध्य पहाडी राजमार्ग संकल्पयात्रामार्फत बुझाएका सुझाव कार्यान्वयनको अवस्था के भइरहेको छ भनेर गरेको प्रश्नमा प्रधानमन्त्रीले सुझावलाई आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्ने बताउनुभएको हो ।
प्रधानमन्त्रीले त्यस क्षेत्रको विकासमा निर्माणमा आफ्नो समेत चासो रहेको बताउदै भन्नुभयो,‘झुलाघाट–चिवाभञ्ज्याङ मध्य पहाडी राजमार्ग म आफैले रेखाङ्कन गरेको हो । त्यसैले यसमा म पनि कहीँ न कहीँ जोडिएको छु’ ।
उहाँले त्यस क्षेत्रमा १० वटा नयाँ शहरसहित दुई वटा शहर निर्माणको क्रम जारी गरेको र प्रतिवेदनमा उठाएका महत्त्वपूर्ण विषय कार्यान्वयनका लागि सरोकारवाला निकायसँग छलफल भईरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘मुख्यसचिवसहित सचिवहरूसँग गहन छलफल भएको छ । समन्वयका लागि एमाले नेता विष्णु पौडेलसँग पनि अलग्गै छलफल भइरहेको छ । सरकार यो विषयमा गम्भीर छ । उल्लेख्य सुझाव आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा समावेश गरिन्छ ।’
प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार १ : ३३ बजे
प्रतिक्रिया