भ्रष्टाचारका फाइल खोल्ने भनेको सरकार र गठबन्धनका मान्छे जोगाउन रहेछ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना वरिपरिका मान्छेलाई जोगाउने र निर्दोषलाई फसाउने खेलमा सरकार संलग्न रहेको आरोप लगाउनुभएकाे  छ ।

आईतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै लामिछानेले सरकार आफ्ना र गठबन्धनका मान्छे जोगाउनको लागि मात्र रहेको भन्दै बालकुमारी घटनामा दोषी ठहर भएका मन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्न चुनौती दिनुभयाे ।

लामिछानेले आफ्ना मान्छे चोख्याउनका लागि सरकारले फाइल खोल्छ र आफ्ना मान्छेलाई चोख्याउँछ भन्ने कुरा ललिता निवास, भुटानी शरणार्थी प्रकरणलगायतमा पुष्टि भइसकेको बताउनुभयाे । उहाँले निर्दोष व्यक्तिविरुद्ध भने उजुरी मागेर फसाउने गरेको आरोप लगाउनुभयाे ।

‘सरकार प्रमाण नभेटेकालाई खोजेर, नक्कली उजुरी गरेर भएपनि लागिरहने तर छताछुल्ल प्रमाण भएकालाई केही नगर्ने हो भने अव विधिको सुशासनका लागि नबोले हुन्छ । नेपाली जनताले भोग्नुपरेको पीडा कसैको सत्ता टिकाउनका लागि आधार नबनोस् ’,उहाँले भन्नुभयाे ।

लामिछानेले रास्वपाले सरकारले गरेको राम्रो कामको सम्मान गरिरहेको भन्दै फाइल खोल्ने हो भने आफ्नै पार्टीबाट गर्न चुनौती दिँदै अव अरू पार्टीका फाइल नखोल्न आग्रह गर्नुभयाे । साथै, उहाँले सरकारी आयोगले दोषी ठहर गरेका मन्त्रीलाई के गर्ने हो ? भनेर प्रधानमन्त्रीले रोष्टमबाट जवाफ दिनुपर्ने बताउनुभयाे ।

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार  ११ : ५७ बजे