यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

मध्यपहाडी लोकमार्ग यात्राले देशको नीति निर्माणमा चिन्तन मनन गर्न मद्दत पुग्छ : अध्यक्ष ओली

झुलाघाट (बैतडी) । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मध्यपहाडी लोकमार्ग यात्राले देशको नीति निर्माणमा चिन्तन मनन गर्न र स्थलगत अध्ययन तथा छलफल गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ। 

‘झुलाघाट–चिवाभञ्ज्याङ् समृद्धिका लागि सङ्कल्प यात्रा’ शुभारम्भ कार्यक्रममा अध्यक्ष ओलीले यात्राले सरकारी अकर्मण्यता र देशको ओरालो लाग्दो अर्थतन्त्र, अराजक र अस्थिर भएको राजनीतिलाई सही बाटोमा ल्याउन सहयोग पुग्ने बताउनुभयो । 

उहाँले भन्नुभयो– ''पार्टीले सुरु गरेको झुलाघाट–चिवाभञ्ज्याङ यात्रा संवाद र अध्ययनको यात्राका रूपमा परिभाषित भएको छ । यो यात्रा संवादको यात्रा हो, यो यात्रा अध्ययनको यात्रा हो । यो यात्रा नेपाली जनताको राष्ट्रिय आकाङ्क्षा ‘समृद्ध नेपाल सुखी नेपाली’ बनाइ छाड्ने सङ्कल्प यात्रा हो । जसलाई नेकपा (एमाले)ले आफ्नो उद्देश्य र गन्तव्य बनाएको छ ।''

अध्यक्ष ओलीले यात्राका क्रममा मध्यपहाडी भू–भागमा विकासका सम्भावना, त्यहाँका युवा र जनशक्तिको अपेक्षा, उत्पादन, रोजगारी, सीप विकासको अध्ययनबारे जनतासँग संवाद गर्ने बताउनुभयो । 

‘सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय’ भन्ने उद्घोषका साथ आजबाट सुरु भएको करिब तीन साता लामो यो यात्रा पुष्पलाल लोकमार्ग पुगेका २६ जिल्ला हुँदै पाँचथरको चिवाभञ्ज्याङ पुगेर समापन गरिने छ । यात्रा अगाडि बढाउने क्रममा अध्यक्ष ओलीले पार्टीका सचिव तथा सुदूरपश्चिम इन्चार्ज छविलाल विश्वकर्मालाई राष्ट्रिय झण्डा र पार्टी  झण्डा हस्तान्तरण गर्नुभयो । 

मध्यपहाडी (पुष्पलाल)लोकमार्ग यात्रामा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, रामबहादुर थापा‘बादल’, विष्णुप्रसाद पौडेल, सुरेन्द्र पाण्डे, महासचिव शङ्कर पोखरेल, उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, विष्णु रिमाल, सचिवहरू लेखराज भट्ट, गोकर्ण विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, रघुबीर महासेठ, पद्मा अर्याल, स्थायी कमिटी सदस्यहरू, केन्द्रीय निकायका प्रमुख लगायतका नेताहरूको सहभागिता रहेको थियो । 

यात्रा क्रममा जनभेला तथा भेटघाटहरू, कलेज तथा विद्यालयका विद्यार्थीहरूसँग छलफल, किसानहरूसँग अन्तर्क्रिया, कृषि वैज्ञानिकहरूसँग संवाद, विकास कार्यहरूको अवलोकन र नमुना काम गरिरहेका उद्यमीहरूसँग भेटघाट, ऐतिहासिक, धार्मिक र सांस्कृतिक स्थलहरूको अवलोकन, जनताका अनुभूति, गुनासा र सुझावहरूको सङ्कलन आदि गरिने एमालेले जनाएको छ  । 

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहिबार  ११ : २८ बजे