यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

एमालेको मध्यपहाडी लोकमार्ग केन्द्रित ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ आजबाट प्रारम्भ हुँदै

काठमाडौँ ।  नेकपा एमालेले मध्यपहाडी लोकमार्ग केन्द्रित समृद्धिका लागि सङ्कल्प यात्रा आजबाट सुरु हुँदै छ ।

गत कात्तिक २२ गते बसेको पार्टीको सचिवालय बैठकको निर्णय अनुसार आज बिहान ८ः०० बजे बैतडीको झुलाघाटबाट अभियानको आरम्भ हुनेछ ।

अभियानको सुरूवात बैतडीको झुलाघाटमा अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय झण्डा फहराएर थालनी गर्नुहुने छ। झुलाघाट–चिवाभन्ज्याङ सङ्कल्प यात्राका पार्टीका अध्यक्ष ओलीसहित एमालेका प्रमुख नेताहरूको टोली बैतडी पुग्नुभएको छ। 

आज बिहान ८ः०० बजे झन्डोत्तोलन गरिसकेपछि ११ः०० बजे गोठलापानी बजारमा आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रमका लागि पार्टीका १ सय बढी केन्द्रीय नेताहरू बैतडी पुग्नुभएको पार्टी जिल्ला अध्यक्ष सुरेन्द्र पालले बताउनुभयो । बैतडीबाट सुरु गरिने सङ्कल्प यात्रा ३ हप्तापछि पाँचथर जिल्लाको चिवाभन्ज्याङ पुगेर सम्पन्न गरिनेछ । उक्त यात्रामा पार्टीको प्रमुख नेताहरूका साथै जन वर्गीय सङ्गठनका अध्यक्षहरू सहभागी रहनुभएको छ । 

पार्टी नेताहरूको स्वागतमा बैतडीको अनारखोलीबाट पाटनसम्म मोटरसाइकल र्‍याली निकालिएको छ भने बैतडी बजारलाई श्रृंगारिएको छ भने ओलीले सम्बोधन गर्ने कार्यक्रममा २० हजार व्यक्तिहरूको उपस्थित हुने एमाले नेताहरूले बताएका छन् । नेकपा एमालेले विशेष महत्वका रूपमा सङ्कल्प यात्राको केन्द्रबिन्दु बैतडीको झुलाघाटलाई रोजेको जनाएको छ ।

बैतडीको झुलाघाटबाटै समृद्धिको बिगुल फुकिने एमालेले जनाएको छ । देशको अधिकांश भूभाग ओगटेको मध्यपहाडी क्षेत्र रहेको र यसको सुरुवाती बिन्दु झुलाघाट नै रहेकाले यसले थुप्रै सम्भावनालाई पहिल्याउने एमाले पोलिटब्युरो सदस्य राजेन्द्र रावलले बताउनुभयो ।

जलस्रोतको भण्डार, जैविक विविधताको खानी र बढी जनसङ्ख्या बसोबास रहेको मध्यपहाडी क्षेत्र नै भएकाले समृद्धिको आधार नै मध्यपहाडी क्षेत्रमा रहेको सङ्केत गर्ने एमालेका निवर्तमान सुदूरपश्चिम प्रदेश अध्यक्ष एवं बैतडीका प्रतिनिधिसभा सदस्य दामोदर भण्डारीले बताउनुभयो । समृद्धिको बलियो आधार नै पहाडी क्षेत्रमा रहेकाले एमालेले सङ्कल्प यात्रा पहाड केन्द्रित गरेको भण्डारीले बताउनुभयो ।

पुष्पलाल अर्थात् मध्यपहाडी लोकमार्ग देशको मेरुदण्ड रहेको बताउँदै एमाले केन्द्रीय सदस्य लीलाधर भट्टले यो लोकमार्गसँग देशेको आर्थिक, सामाजिक, सांस्कृतिक महत्त्व झल्किने बताउनुभयो । 

मध्यपहाडी लोकमार्गको आसपासमा बसाइसराइ लगायतका समस्याहरू बढेकाले यहाँका समस्या नजिकबाट बुझ्न सकिने राजनीतिक चेतनाको विकास हुने उहाँले बताउनुभयो । बैतडीबाट सुरु हुन गइरहेको यो सङ्कल्प यात्राले देशमा नै नयाँ सन्देश प्रवाह गर्ने एमाले बैतडीका नेताहरूले बताएका छन् ।

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहिबार  ७ : २४ बजे