यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

देशविरुद्धका षडयन्त्रप्रति सचेत रहन अध्यक्ष ओलीको आग्रह

काठमाडौँ  । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशविरुद्ध अहिले विभिन्न खाले षडयन्त्र सुरु भएकाले सचेत रहन नेपाली जनतालाई आग्रह गर्नुभएको छ ।

नेपाल संवत् ११४४ को अवसरमा नेकपा (एमाले) काठमाडौँ महानगरपालिका कमिटीले शनिवार वसन्तपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशलाई अस्थिरतामा फसाउने, दुष्चक्रमा फसाउने कोसिस भइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो– जनतालाई पहिचानका नाममा, जातका नाममा अनेक नाममा विभाजित गर्ने काम भइरहेको छ । झगडा लगाउने प्रयास भइरहेको छ । द्वन्द्व मच्चाउने प्रयास भइरहेको छ । सरकारले अराजकतालाई नियन्त्रण नगरी प्रोत्साहित गर्ने काम गरेको अध्यक्ष ओलीको भनाइ छ । 

अराजकतालाई नियन्त्रण नगर्ने, गुण्डागर्दीलाई आममाफी दिने, अर्थतन्त्र ध्वस्त बनाउने, तस्करीलाई बढवा दिने लगायतका कुशासनको पक्षमा सरकारले गरेको कामको चर्चा गरी साध्य नभएको उहाँले बताउनुभयो । अध्यक्ष ओलीले देशमा राजतन्त्रको कल्पना गर्न नसकिने र जन्मिँदै कोही राजा बन्ने कुरा जनतालाई स्वीकार्य नहुने बताउनुभयो । अध्यक्ष ओलीले गणतन्त्रको रक्षाका लागि आफूहरूले जस्तासुकै परिस्थितिको पनि सामना गर्न तयार रहेको बताउनुभयो ।

जनताभन्दा एउटा व्यक्ति ठुलो हुने कुरा, एउटा परिवार ठुलो हुने कुरा अबको सचेत जनता, नयाँ पुस्ताका लागि  स्वीकार्य नहुने चर्चा गर्दै सरकारले नराम्रो काम गर्दैमा गणतन्त्र खराब नहुने र ढुङ्गे युगतिर फर्किन नसकिने उहाँले स्पष्ट गर्नुभयो । अध्यक्ष ओलीले ठुलो बलिदान दिएर ल्याएका उपलब्धिको रक्षा गर्नुपर्ने बताउनुभयो । 

प्रकाशित मिति : १० मंसिर २०८०, आइतबार  ७ : ३८ बजे