यसरी मनाइँदैछ विश्व पर्यटन दिवस

एमाले स्वयंसेवक टोलीले गर्‍यो भूकम्पले भत्काएका १६७ घरका भग्नावशेष सफाइ, ८० घर टहरा निर्माण 

​​​​​​​जाजरकोट । नेकपा एमाले)को स्वयंसेवक टोलीले शुक्रवारदेखि भूकम्पको केन्द्रबिन्दु बारेकोटमा काम सुरु गरेको छ । 

स्वयंसेवक टोलीले भूकम्पले भत्काएका घरहरूका भग्नावशेष हटाउने काम थालेका छन् । भूकम्पको केन्द्रबिन्दु रहेको बारेकोटमा शुक्रबाट काम सुरु गरिएको र शुक्रवार नै तीन वटा घरको भग्नावशेष हटाई सफा गरिएको छ । त्यहाँ एमालेका स्थानीय कार्यकर्ता स्वयंसेवकका रूपमा खटेको जनाइएको छ । 

एमाले स्वयंसेवक टोलीले भेरी नगरपालिका वडा नं.३  माथिल्लो थाप्लेमा ३७ वटा घरहरूको भग्नावशेष सफा गरेको पार्टीका केन्द्रीय सदस्य निरज आचार्यले जानकारी दिनुभयो। त्यहाँ नेपाल ट्रेड युनियन महासङ्घ (जिफण्ट)को तीन वटा टोलीले मङ्सिर १ गतेदेखि काम गरिरहेको छ । 

त्यसैगरी, जाजरकोटकै पिपलडाँडा टोलमा अनेरास्ववियुको टिमले १५ ओटा घरको भग्नावशेष हटाउनुका साथै दुई वटा अस्थायी टहरा बनाएको छ । रावत गाउँमा नेकपा (एमाले)सुर्खेतको स्वयंसेवक टोलीले २८ वटा घरका भग्नावशेष सफा गरेको छ भने पाँच वटा अस्थायी आवास बनाएको छ । त्यहाँ खेलकुद महासङ्घका स्वयंसेवकहरूले पनि काम गरिरहेका छन् ।  वडा गैरिखाली टोलमा कोसी प्रदेशबाट आएको टोलीले दुई वटा घरको भग्नावशेष सफा गरेको छ ।

त्यस्तै, नलगाड नगरपालिका वडा नं १ को चिउरी गाउँमा सुर्खेतको टोलीले १२ ओटा नयाँ टहरा बनाएको छ भने चार वटा घरको भग्नावशेष हटाएको छ । वडा नं.१ कै कल्पत गाउँमा युवा सङ्घ सुदूरपश्चिमको टोलीले काम गरिरहेको छ । यस टोलीले  नगरपालिकाको मापदण्ड अनुसारका सात वटा नयाँ टहरा बनाएको छ भने आठ वटा घरको भग्नावशेष हटाउने र सामान झिक्ने काम गरेको छ । 

त्यसैगरी, कुशे गाउँपालिका वडा नं ७ को धनराशी गाउँमा स्थानीय स्वयंसेवकले बिहीबारबाट काम सुरु गरेका र दुई दिनमा तीन वटा घरको भग्नावशेष हटाई  एक वटा नयाँ टहरा बनाएका छन् ।

जाजरकोटमा एमालेका स्वयंसेवकहरू १२ वटा समूहमा विभाजित भएर काम गरिरहेका छन् । हालसम्म १३२ घरका भग्नावशेष हटाई मालसामान झिक्ने काम गरेका छन्  भने ३० घर टहरा बनाई हस्तान्तरण गरेका छन् ।

त्यसैगरी रुकुम पश्चिमको चौरजहारी नगरपालिका–११ खोलागाउँ र आठविसकोट नगरपालिका–१३ घेत्मामा लुम्बिनीबाट गएको स्वयंसेवकहरूको समूहले काम गरिरहेको सिङ्गो स्वयंसेवक टोलीको नेतृत्व गरिरहनुभएका पार्टी केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागका प्रमुख किरण पौडेलले जानकारी दिनुभयो । 

रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा आठ वटा समूह, सानीभेरी गाउँपालिकामा तीन समूह र चौरजहारी नगरपालिकामा दुई समूह गरी १३ वटा समूहले काम गरिरहेका छन् । रुकुम पश्चिममा लुम्बिनीबाट गएका २०० जना,सुदूर पश्चिमबाट गएका १९ जना र  गण्डकीका २७ जना गरी २४६ जना स्वयंसेवक परिचालित रहेको एमालेले जनाएको छ  ।

नेकपा (एमाले)रुकुम पश्चिमका अध्यक्ष नन्दराम देवकोटाका अनुसार, रुकुममा हालसम्म ३५ वटा भत्केका घरका भग्नावशेष हटाउनुका साथै ५१ वटा अस्थायी घर टहरा निर्माण गरिएको छ । 

गत कात्तिक १७ गते राती गएको भूकम्पबाट प्रभावित जाजरकोट र रुकुम पश्चिममा एमालेले एक हजार एक सय स्वयंसेवक परिचालन गरेर पुनर्स्थापना र नवनिर्माणको काम गरिरहेको छ ।

प्रकाशित मिति : ९ मंसिर २०८०, शनिबार  ७ : २२ बजे