बिआरआईको बारेमा भ्रमपुर्ण प्रचारहरु गर्ने प्रयत्नहरु भैरहेका छन् : अध्यक्ष तिमिल्सिना 

काठमाण्डौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले छिमेकी मुलुक चीनले शुरु गरेको परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ(बिआरआई)का बारेमा भ्रमपूर्ण प्रचार गर्ने प्रयत्न भैरहेको बताउनुभएको छ ।  

साउथ एसिया फोरम अफ प्रोर्भटी रिडक्सन एण्ड डेभलप्मेन्ट कर्पोरेसनले आज काठमाण्डौमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले बिआरआईका बारेमा छरिएका भ्रमहरुलाई चिर्दै  सफल कार्यान्वयन गर्नुपर्ने बताउनुभएको हो ।  

‘बिआरआईको कार्यान्वयनमा कमीकमजोरी देखिए सच्याउने, बिभिन्न देशका आफ्नै परिस्थिति अनुकुल हुनेगरि सञ्चालन गर्न र ती देशका जनताहरुले अधिकतम लाभ लिन सक्ने गरि परियोजना अगाडी बढाउन जरुरी छ ।’ उहाँले भन्नुभयो ‘गरिवी न्युनीकरण तथा बिकास साझेदारीका लागि यो परियोजना महत्वपूर्ण कडीको रुपमा रहनेछ ।’

 चीन सरकारको अत्यन्त महत्वकाँक्षी दुरगामी महत्वको परियोजना भएको बताउँदै अध्यक्ष तिमिल्सिनाले परियोजनाले  चीनलाई मात्र नभई बिश्वलाई नै प्रभावित तुल्याउन सक्छ भन्नुभयो । यसलाई ठिक ढंगले सञ्चालन गर्दा बिश्वका राष्ट्र र जनताले राम्रो लाभ लिन सक्ने पनि उहाँको  भनाई छ । 

अध्यक्ष तिमिल्सिनाले बेल्ट एण्ड रोड इनिसिएटिभ अन्र्तगत नै दक्षिण एसियामा गरिवी निवारण र बिकासमा साझेदारी तथा सहयोग आदनप्रदान गर्ने उद्देश्य रहेको बताउँदै गरिवी निवारणमा चीनले प्राप्त गरेको सफलता चीनका लागि मात्र नभएर बिश्वका लागि नै महत्वपर्ण र अनुकरणीय भन्नुभयो । 

उहाँले एक असल छिमेकीका रुपमा आफ्ना सफल अभ्यासहरुलाई नेपाल जस्ता दक्षिण एसियाली मुलुकहरुमा प्रयोग गर्न प्रोत्साहन गर्ने चीन सरकारको अग्रसरताको उच्च प्रशंसा गर्दै यसबाट दक्षिण एसियाली मुलुकहरुलाई उनीहरुको आर्थिक बिकास र जनताको जीवनयापनमा सुधार ल्याउन सहयोग पुगेको छ भन्नुभयो ।  ‘गरिवी निवारणमा हामीहरुले  मिलेर काम गरेको अवस्थामा दिगो विकासका लक्ष्य हाँसिल गर्न समेत मद्दत मिल्ने बिश्वास लिएको छु ।’ उहाँको भनाई थियो । चीनको गरिवी निवारणमा मिलेको सफलतामा दुरदर्शी राजनैतिक नेतृत्व, नागरिक शसक्तिकरण, सर्वपक्षिय सहभागिता र आपसी सहकार्य जस्ता कारणहरु रहेको बताउँदै अध्यक्ष तिमिल्सिनाले नेपाल लगायत दक्षिण एसियाली मुलुकहरुले चीनका यी अनुभवबाट शिक्षा लिएर असल अभ्यासलाई आत्मसात गरेर अगाडी बढ्न सकेको खण्डमा गरिवी निवारणमा महत्वपूर्ण सफलता प्राप्त गर्न सक्ने बिश्वास उहाँको छ । 
 

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार  ४ : ४७ बजे