हमासको नियन्त्रणमा रहेको भनिएका विपिन जोशीलाई छुटाउने ‘पहल जारी’,अवस्था अझै ‘अज्ञात’

​​​​​​​काठमाडाैँ । प्यालेस्टिनी समूह हमासको नियन्त्रणमा रहेको ठानिएका नेपाली विद्यार्थी विपिन जोशीलाई छुटाउन “सबैखाले प्रयास जारी रहेको तर उनको पछिल्लो अवस्थाबारे थाहा पाउन नसकिएको” अधिकारीहरूले बताएका छन्।

इजरेलमा गत असोज २० गते प्यालेस्टिनी समूह हमासले गरेको आक्रमणका बेला जोशीलाई उक्त समूहले बन्धक बनाएर लगेको बताइएको छ।

हमासको आक्रमणमा परेर दक्षिणी इजरेलको गाजासँग सीमा जोडिएको कृषि फर्ममा कार्यरत १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो भने चार जना घाइते भएका थिए।

मृतकहरूको शव पहिचान गरेर नेपाल ल्याइसकिएको अधिकारीहरूले जानकारी दिएका छन्।

नेपालका परराष्ट्रमन्त्री एनपी साउदले जोशीको परिवारलाई “सरकारले उनलाई सकुशल फिर्ता ल्याउन सबैखाले उपाय अपनाइरहेको” बताएका छन्।

उनले शनिवार विपिनका परिवारलाई “इजरेल सरकारका अनुसार जोशी बन्धक अवस्थामा जीवित रहेको” जानकारी पनि दिएका थिए।

विपिन बन्धक अवस्थामा रहेको आधार

इजरेलस्थित नेपाली राजदूत कान्ता रिजालले जोशीको मोबाइल गाजा क्षेत्रमा ‘ट्रेस’ भएको जानकारी आएपछि उनी बन्धक अवस्थामा रहेको आधार प्राप्त भएको बताइन्।

उनले भनिन्, “सुरुमा हामीले नेपालबाट विपिन जोशीको परिवारका सदस्यहरूको डीएनए मगाएर पहिचान नभएका र उक्त हमलामा परेका शवहरूसँग त्यसलाई जुधाएर हेर्‍यौँ। कुनै पनि नचिनिएका शवहरूसँग उसको डीएनए मिलेन।”

“त्यसपछि केही दिनमा हमासले बन्धक बनाएकाहरूलाई छुटाउनका निम्ति पहल गरिरहेका निकायहरूले हामीलाई उनको मोबाइल गाजा क्षेत्रमा ‘ट्रेस’ भएको जानकारी गराए। त्यसका आधारमा उनी बन्धक भएको ठानिएको हो।”

हमासले उक्त हमलापछि इजरेलीसहित अन्य देशका नागरिकहरूलाई पनि बन्धक बनाएको थियो।

त्यसमध्ये केही देशका नागरिकहरूलाई उसले मुक्त गरे पनि अझै २३० भन्दा बढी बन्धकहरू गाजामै रहेको बताइएको छ।

ती बन्धकमध्येमा विपिन जोशी पनि रहेको ठानिएको अधिकारीहरू बताउँछन्।

कतारले के भन्यो?

जोशीलाई छुटाउने पहल गरिदिन नेपालले कतार सरकारलाई पनि औपचारिक पत्र नै लेखेर आग्रह गरेको थियो।

कतारस्थित नेपाली राजदूत नरेशविक्रम ढकालले दुई साताअघि कतारी विदेश मन्त्रालयलाई उनको मुक्तिका लागि पहल गरिदिन आग्रह गरेको बताएका थिए।

त्यसबेला उनले भनेका थिए, “हामीले उनको परिवारसँग आवश्यक कागजातसमेत मागेर यहाँको विदेश मन्त्रालयलाई उनको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका छौँ। उहाँहरूलाई हामीसँग प्राप्त भएको विवरण र सूचना पनि उपलब्ध गराएका छौँ।”

ढकालका अनुसार तीन साता कतारको विदेशमन्त्रालयलाई त्यस्तो आग्रह गरिएको थियो। कतार सरकारले पनि नेपाली नागरिकको मुक्तिका लागि आवश्यक पहल गर्ने आश्वासन दिएको ढकालले बताए।

हमाससँग कुराकानी गरेर कतारले केही पश्चिमी देशका नागरिकहरूलाई मुक्त गराएको विभिन्न सञ्चारमाध्यमहरूले जनाएका छन्।

त्यस्तै पहल नेपाली नागरिकका लागि पनि कतारले गरिदेओस् भनेर आग्रह गरिएको दूतावासका अधिकारीहरूको भनाइ छ।

शनिवार बीबीसीसँग कुरा गर्दै ढकालले भने, “उहाँहरूले लिखित रूपमा नै जानकारी गराउनु त भएको छैन तर कतारको विदेश मन्त्रालयका अधिकारीहरूले हामीलाई मौखिक रूपमा विपिनको जीवन रक्षाका लागि पहल गरेको र बन्धक अवस्थामा भए सुरक्षित राख्न पहल गरिएको जानकारी दिनु भएको छ।”

हमासका नेताहरूसँग कतारले निरन्तर संवाद गरिरहेकाले जोशीलाई सुरक्षित राख्न र मुक्त गर्ने काममा चाँडै सफलता पाउन सकिने आशा आफूले राखेको ढकालको भनाइ छ। वीवीसीबाट 

प्रकाशित मिति : ३ मंसिर २०८०, आइतबार  १२ : ५२ बजे