विश्व शौचालय दिवस : नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । विश्व शौचालय दिवस विश्वसँगै आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । 

संयुक्त राष्ट्र सङ्घले सन् २०१३ देखि नोभेम्बर १९ लाई विश्व शौचालय दिवसका रूपमा मनाउने गरेको हो । 

मानव समुदायलाई मानवजन्य दिसा र पिसाबबाट उत्पन्न हुनसक्ने जीवाणुले ल्याउने रोग व्याधिबाट बचाउन शौचालय निर्माण गर्ने र प्रयोग गर्ने बानी विकसित गराउन यो दिवस मनाउन सुरु गरिएको हो ।

यस वर्ष पनि संयुक्त राष्ट्र सङ्घको आह्वानमा १९ नोभेम्बरमा विश्वभर शौचालय दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यस वर्षको नारा ‘परिवर्तनको गति बढाउँदै’ रहेको छ । 

राष्ट्रसङ्घले सन् २०३० सम्म दिगो विकासका लक्ष्य हासिल गर्ने कार्यक्रम तय गरी कार्यान्वयनमा ल्याइरहेको छ । दिगो विकासको छैटौँ लक्ष्यमा स्वच्छ खानेपानी र सरसफाइको विषय रहेको छ । तर सन् २०३० सम्म सबैलाई स्वच्छ र सुरक्षित पानी पुर्‍याउने र सरसफाइ शतप्रतिशत हुने अवस्थामा पुर्‍याउने कार्यमा प्रगति भने सुस्त गतिमा भइरहेको छ । यसै तथ्यलाई मध्यनजर गर्दै राष्ट्र सङ्घले यस वर्षको नारा परिवर्तनको गति बढाउँदै भन्ने राखेको हो ।

प्रकाशित मिति : ३ मंसिर २०८०, आइतबार  १० : ०४ बजे