छठ पर्वजस्ता चाडपर्वका माध्यमबाट राष्ट्रिय एकता थप सुदृढ हुन्छ : पूर्व राष्ट्रपति भण्डारी

​​​​​​​काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्व जस्ता चाडपर्वले विविधतायुक्त नेपाली समाजमा सामाजिक सद्भाव एवं एकताको प्रवर्द्धनमा मद्दत पुग्ने बताउनुभएको छ । 

छठ पर्व, २०८० को अवसरमा शुभकामना सन्देश व्यक्त गर्नुहुँदै उहाँले प्रकृतिको पूजा गरिने यस पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद, कुरीति एवं विसङ्‌गतिको अन्त्य गरी समतामूलक, सभ्य  र समुन्नत समाज निर्माण गर्नेतर्फ अग्रसर हुन हामी सबैलाई थप प्रेरणा प्रदान गरोस् भनी कामना समेत गर्नुभएको छ । 

उहाँले छठ पर्वलाई हामीले विविध भौगोलिक क्षेत्र, भाषाभाषी, जातजाति र संस्कृति अँगालेका नेपालीहरूको मनलाई आपसमा जोड्ने सेतुको रूपमा लिन सक्ने बताउनुभएको छ ।  छठ पर्व जस्ता चाडपर्वका माध्यमबाट विविधतायुक्त नेपाली समाजमा सामाजिक सद्भाव एवं एकताको प्रवर्द्धनमा मद्दत पुग्ने भन्दै उहाँले यसबाट राष्ट्रिय एकता थप सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको छ । 

हरेक वर्ष कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीका दिनसम्म पृथ्वीका सम्पूर्ण प्राणी र वनस्पति जगत्लाई विना भेदभाव समान शक्ति, ताप र प्रकाश दिने सूर्यको महिमालाई आत्मसात् गर्दै सूर्य देवता र छठी देवीको पूजा अर्चना गर्नुका साथै नदी, ताल तलैया वा पोखरीको किनारमा अस्ताउँदो र उदाउँदो सूर्यको किरणलाई दूधको अर्घ्य दिएर यो चाड मनाइन्छ ।

छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर जाने जनविश्वास समेत रहेको छ ।

हेर्नुहोस् शुभकामना सन्देशको पूर्णपाठः

 

प्रकाशित मिति : ३ मंसिर २०८०, आइतबार  ६ : ५५ बजे