बाँकेमा चोरीको अनौठौ घटना :  चोरले तीन दिन पछि फिर्ता गर्यो सामान

बाँके । बाँकेमा चाेरले अनौठो ब्यवहार देखाएकाे छ । केही दिनअघि घर फोडेर लगेको सामान चोरले गएराति घरधनिकै आँगनमा लगेर राखेर सबैलाई चकित पारेको हो । 
बाँकेको राप्तीसोनारी गाउँपालिका –९, बागेसालका बुद्धबीर वलीको घरबाट चोरले मङ्गलबार राति घरमा कोही नभएको मौका छोपेर घरको ढोकामा लगाएको ताला तोडेर एक थान तिलहरी र ४५ हजार रुपियाँ नगद चोरेर लगेको थियो । सोही तिलहरी र केही नगद रुपियाँ गएराति घरधनिकै आँगनमा लगेर राखिछाडेको भेटिएको बुद्धबीर वलीका छोरा प्रेम वलीले जानकारी दिनुभयो ।

नगद र तिलहरी चोरी भइसकेपछि प्रहरीकोमा  उजुरी दिएको उहाँले जानकारी दिनुभयो । “घरमा भएको तिलहरी र नगद पैसा चोरी भएपछि हामीले प्रहरीकोमा उजुरी निवेदन दिएका थियौं” उहाँले भन्नुभयो, “मङ्गलबार राति चोरी भएको तिलहरी र नगद ४५ हजारमध्ये चोरले गएराति तिलहरी र २३ हजार ३ सय ६० रुपियाँ घरको आँगनमा छोडेर गएछ, बाँकी पैसा पनि फिर्ता गरिदिए हुन्थ्यो ।”उहाँले भन्नुभयो । 

घरमा तिलहरी र नगद चोरी भएपछि बुद्धबीर वलीले खोजतलासका लागि बुधबार निवेदन दिनुभएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । चोरको खोजतलास तथा अनुसन्धान भइरहको कोहलपुर प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०८०, शनिबार  १० : ०२ बजे