सरकारले राजनीतिक पूर्वाग्रह राखेर राहत वितरण गर्याे : ईश्वर पोखरेल

धनकुटा । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल सरकारले जाजरकोट र रुकुम पश्चिममा आएको भूकम्पपछि पर्यटन आतङ्क खडा गरेको बताउनु भएको छ। प्रेस चौतारी धनकुटाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ उपाध्यक्ष पोख्रेलले भूकम्प प्रभावित क्षेत्रमा पार्टीले एक हजार स्वयंसेवक पठाउने तयारी गरेको बताउनु भयो । 

उहाँले राजनीतिक पूर्वाग्रहमा सरकारले राहत वितरण गरेको गुनासो आएकाले सच्याउन अनुरोध गरिएको बताउनुभयो । पूर्व उपप्रधानमन्त्री समेत रहेका पोख्रेलले सरकारले जनतालाई दिने सेवा सुविधा कमजोर भएकाले राजावादी मौलाएको बताउँदै आफूहरूले केही दिन अघि भएको सर्वदलीय बैठकका सोही कुरा बताएको बताउनु भयो । यस्तै पोखरेल राष्ट्रिय शक्ति निर्माण गर्न र पहाडको बसाइसराइ रोक्न एमालेले मध्यपहाडी राजमार्ग केन्द्रित अभियान गर्न लागेको बताउनु भयो ।  

फरक प्रसङ्गमा वरिष्ठ उपाध्यक्ष पोख्रेलले मध्यावधि रोक्न कोसी प्रदेशमा काङ्ग्रेस नेतृत्वमा सरकार बनाउन सहयोग गरेको भए पनि काङ्ग्रेसले त्यसलाई बुझ्न नसकेको बताउनु भयो । उपाध्यक्ष पोखरेल एमाले धनकुटाको प्रथम प्रतिनिधि परिषद् बैठकका लागि धनकुटा आउनु भएको हो ।
 

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहिबार  ५ : ५१ बजे