अटो दुर्घटनाहुँदा जुम्लामा दुईको मृत्यु,एक घाइते

जुम्ला । जुम्लामा शनिवार राती अटो दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । हिमा गाउँपालिका वडा नं १ स्थित नाग्मबाट दियारगाउँ जाँदै गरेको भे १ ह ३९९७ नम्बरको अटो बड्की गाउँ नजिक दुर्घटना हुँदा हिमा- १ निवासी अन्दाजी वर्ष ४५ का अटाे चालक पदम शाही र सोही वडाका अन्दाजी वर्ष ४२ का यात्रु बलि रोकायाको मृत्यु भएको जुम्लाका प्रहरी नायब उपरिक्षक (डिएसपी) प्रल्हाद कार्कीले जानकारी दिनुभयो ।

दुर्घटनामा स्थानीय नन्द रोकाया घाइते भएका छन् । घाइते रोकायाको अवस्था गम्भीर रहेकोले उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएको डिएसपी कार्कीले बताउनुभयो ।

दुर्घटनाको खबर पाउने बित्तिकै घाइतेको उद्धारका लागि पालिकाको एम्बुलेन्स पठाइएको सिञ्जा गाउँपालिका अध्यक्ष पूर्ण प्रसाद धितालले बताउनुभयो । उहाँका अनुसार अटो सडकबाट ५ सय मिटर तल खोलामा खसेको हो ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  ९ : ४२ बजे