‘जनयुद्ध दिवस’को बिदा खारेजकाे माग राख्दै प्रदर्शनमा उत्रिएका अधिकारकर्मी बानेश्वरबाट गिरफ्तार

काठमाडौं । ‘जनयुद्ध दिवस’को बिदा खारेजीको माग राख्दै प्रदर्शन गर्ने मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीलगायत पक्राउ परेका छन् ।

 

पहाडीसहितका अधिकारकर्मीलाई प्रहरीले आइतवार काठमाडौंको नयाँ बानेश्वरबाट गिरफ्तार गरेको हो । ​

 

संक्रमणकालीन न्याय प्रक्रियासम्बन्धी संसद्‌मा विचाराधीन शंसोधन विधेयक मानव अधिकारमैत्री बनाई संसदको गरिमा जोगाउन आग्रह गर्दै समाजले संसद् भवन अगाडि प्रदर्शन गरेको हो ।​

आइतवार दिउँसो संसद् भवनको ३ नम्बर गेट अगाडि भएको प्रदर्शनमा नेपाल सरकार : हिंसालाई महिमामण्डन गर्ने काम बन्द गर, फागुन १ गते ‘जनयुद्ध दिवस’का नाममा बिदा दिने निर्णय खारेज गर, विस्तृत शान्ति सम्झौताको मर्मअनुरूप पीडितलाई न्याय र पीडकलाई सजाय सुनिश्चित गर लगायतका नारासहित प्रदर्शन गरिएको थियो ।

दिउँसो १ बजे प्रदर्शन शुरू हुने भनिए पनि जम्मा हुने क्रममा १० मिनेट अगावै प्रहरीले उनीहरूलाई गिरफ्तार गरेको थियो ।

प्रकाशित मिति : १२ कार्तिक २०८०, आइतबार  २ : २५ बजे