युक्रेनी सेनाको नियन्त्रणमा बर्दियाका विवेक खत्री

बर्दिया । युक्रेनी सेनाको नियन्त्रणमा रहेका २३ वर्षीय विवेक खत्रीको परिवार त्रासमा छ । खत्रीलाई युक्रेनी सेनाले नियन्त्रण लिएको खबर पाएपछि उनको घर रहेको बर्दिया राजापुर नगरपालिका १, मनपरीपुरमा सन्नाटा छाएको छ ।

करिब १५ दिनअघि युक्रेनी सेनाले खत्रीलाई नियन्त्रणमा लिएपछि विवेकले घरमा भिडियो कल गर्दै आफू पक्राउ परेको जानकारी घरपरिवारलाई गराएका थिए । विवेक सन् २०२२ अक्टोबर २३ तारेखमा रुसको राजधानी मस्को पुगेका थिए ।

उनी अर्थशास्त्रमा स्नातक अध्ययनका लागि मस्को पुगेका थिए । विवेकलाई रुसी सेनाले युक्रेनविरुद्ध लड्न पठाएको जानकारी परिवारले पाएका छन् । उनको उद्धार गरिदिन सरकारसँग विवेकका परिवारले आग्रह गरेका छन् ।

‘नेपाल सरकारले जसरी हुन्छ पहल गरेर विवेकलाई सकुशल घरसम्म पुर्याइदेओस् । सरकारसँग हाम्रो यही अनुरोध छ,’ विवेककी फुपु महिमा सिंहले भनिन्,

विवेक पक्राउ परेको जानकारीपछि स्थानीय बासिन्दा पनि चिन्तित रहेको राजापुर नगरपालिका १ का वडाध्यक्ष बाबुराम थारुले जनाए । कूटनीतिक माध्यम्बाट विवेकको रिहाका लागि पहल गर्न स्थानीय प्रशासनसमक्ष आफन्तजनले माग गरेका छन् । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले घर परिवारको पहिचान भई जानकारी लिएको बताए ।

प्रकाशित मिति : ११ कार्तिक २०८०, शनिबार  ३ : ०७ बजे