भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

सामाजिक एकता र सद्भाव कायम राख्न पूर्वराष्ट्रपति भण्डारीकाे अपिल

काठमाडौँ । साम्प्रदायिक विषयलाई लिएर नेपालमा पछिल्लो समय उत्पन्न भइरहेको असहज परिस्थितिमा सबैलाई संयमता अपनाउन र जिम्मेवार बन्न पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अपिल गर्नुभएको छ ।

नेपाली समाजमा सदियौँदेखि कायम रहेको धार्मिक ,सांस्कृतिक एवम् अन्तर सामुदायिक सद्भाव र सहिष्णुतामा गम्भीर प्रश्न उठेको भन्दै उहाँले सबैलाई संयमित र जिम्मेवार हुन आग्रह गर्नुभयो । 

पूर्वराष्ट्रपति भण्डारीले कुनै पनि प्रकारका विभाजनकारी प्रवृत्तिबाट प्रभावित नभई नेपालको पहिचान र प्रगतिको आधारशिलाका रूपमा रहेको जातीय, धार्मिक एवं सामाजिक सद्भावलाई जोगाउन फेरि एकपटक एकताबद्ध हुन परेको बताउनुभयो । 

‘हामी एउटा यस्तो राष्ट्र निर्माणका लागि कटिबद्ध छौँ,जहाँ प्रत्येक नागरिकले आफूलाई सम्मानित र समग्रताको अभिन्न अङ्गको रूपमा स्वीकार गरिएको महसुस गरुन् । सुदृढ राष्ट्रिय भावना र सद्भावप्रतिको हाम्रो प्रतिबद्धताले नै हामीलाई निरन्तर अगाडि बढ्न मार्ग निर्देशन गर्नेछ भन्ने विश्वाससहित सबैमा सामाजिक एकता, जागरण र पहरेदारीका लागि हार्दिक अपिल गर्दछु ’,उहाँले भन्नुभयो । 

उहाँले एकअर्काको धार्मिक आस्था र सांस्कृतिक परम्परालाई सम्मान गर्ने ऐतिहासिक कालदेखिको नेपालीहरूको असल परम्परालाई थप सुदृढ तुल्याउनुपर्नेमा जोड दिनुभयो । 

जातीय र धार्मिक सद्भाव कायम राखेर मात्र समाजमा सबै नागरिकको सुरक्षा एवं सम्मानको प्रत्याभूति दिन सकिने उहाँले बताउनुभयो । नेपाली माटोमा विकास भएका जनक, बुद्ध, वैदिक, शैव तथा प्रकृति पूजक सभ्यताहरूले यही शिक्षा दिँदै आएको भन्दै उहाँले सबैले नेपाली सभ्यताका मार्गदर्शनलाई गहिरो गरी आत्मसात् गर्नुपर्ने बताउनुभयो । 

समाजमा शान्ति खलबलिने तथा प्रचलित कानुनको पालनामा प्रतिकूल असर पर्ने गरी नेपाली जनतालाई नै एकअर्काविरुद्ध उभ्याउने गतिविधिमाथि मलजल गर्न मिथ्या सूचना र झूटा समाचारको समेत उपयोग भइरहेकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो ।  

पूर्वराष्ट्रपति भण्डारीले नेपाली समाजको धार्मिक, सांस्कृतिक, भाषिक तथा जातीय विविधतालाई देशको सौन्दर्य र सम्पदाका रूपमा आत्मसात् गर्दै आएको स्मरणसमेत गर्नुभयो । 

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार  १ : २९ बजे